दार्चुला । नेपालका ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । आजदेखि थप सात वटा जिल्लामा निषेधाज्ञा सुरु भएसंगै निषेधाज्ञा लागु भएका जिल्लाको संख्या ४५ पुगेको हो ।
निषेधाज्ञा घोषणा भएका जिल्लामध्ये दार्चुला, मोरङ, काभ्रे, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा सङ्क्रमण बढी भएका स्थानीय तहमा मात्रै निषेधाज्ञा लगाइएको छ । दार्चुलाको नौँगाड गाउँपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
मन्त्रिपरिषद्को गएको वैशाख १३ गतेको निर्णय अनुसार कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने व्यवस्था छ ।
यसैबिच सबै आन्तरिक उडानहरु बन्द भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आइतवार बसेको मन्त्रिपरिषद् बैठकले गएरातिदेखि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णय अनुसार देशभरका सबै आन्तरिक उडानहरु बन्द भएका छन् । यस्तै आउँदो बिहीवारदेखि भारतबाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान बन्द हुनेछन् । सरकारले नेपाल भारतबीच एयर बलमा आधारित उडान भने कायम नै राखेको छ ।
भारतसँगको उडान पनि सङ्ख्या घटाएर हप्तामा दुईवटा कायम गरेको छ । ती उडानबाट नेपाल आउँदा अनिवार्य १० दिन सरकारले तोकेको होटेल क्वरेण्टीनमा बस्नुपर्ने छ ।





प्रतिक्रिया