दार्चुला । गत आर्थिक वर्षमा सबैभन्दा बढि आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको सुदूरपश्चिम प्रदेश यस वर्ष भने छैटौँ नम्बरमा धकेलिन पुगेको छ।
पहिलो चरणको कोरोना भाइरसका कारण पनि पहिलो स्थानमा रहन सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र यस वर्ष भने नराम्ररी प्रभावित बन्ने अनुमान गरिएको हो।
आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धिदरमा कर्णाली प्रदेशभन्दा थोरै अगाडी देखिने प्रक्षेपणले पनि राष्ट्रिय कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा समेत सुदूरपश्चिम प्रदेश निकै पछाडी रहने अधिकारीहरूले बताएका छन ।
केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रतिवेदनले चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र कमजोर रहने देखाएको छ।
गत आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब ७४ अर्ब अर्थतन्त्र रहेको सुदूरपश्चिममा चालु आर्थिक वर्षमा भने २० अर्बले मात्र वृद्धि हुने प्रक्षेपण गरिएको हो। गत आर्थिक वर्ष ऋणात्मक नभएर आर्थिक वृद्धिदरमा पहिलो स्थानमा रहन सफल भएको सुदूरपश्चिम यस वर्ष भने आर्थिक वृद्धिदरको हिसाबले सबैभन्दा पछाडी रहने अनुमान विभागले गरेको छ।
यस वर्ष ३ दशमलव ४ प्रतिशतले मात्र आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरिएको हो। तर केन्द्रिय तथ्याङ्क विभागले गरेको प्रक्षेपण प्रदेशहरूको हकमा व्यवहारिक नभएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव निर्मल ढकालले बताउनुभया ।
अघिल्लो वर्ष गरेको अनुमान अन्तिममा ३/४ प्रतिशतले फरक पर्न गएको बताउँदै प्रदेशहरूको हकमा विभागले गरेको जस्तो अनुमान हुन नसक्ने उहाँको भनाई छ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ४ दशमलव ०८ प्रतिशत थियो। पहिलो चरणको कोरोना भाइरसको असर लामो समयसम्म रहिरहनु र पुनः चैत महिनादेखि नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरसले विकराल रुप लिइरहेको अवस्थामा यसको सिधा असर उद्योग व्यापारमा परेकाले अर्थतन्त्र खुम्चने अवस्थामा पुगेको अधिकारीहरू बताउँछन्।
कोरोना भाइरसको ग्राफ यही अवस्थामा बढ्दै जाने हो भने, अर्थतन्त्रका सबै परिसूचकहरू ऋणात्मक अवस्थामा पुग्ने अर्थविश्लेषकहरूको अनुमान छ।
विभिन्न क्षेत्रहरूलाई आधार मानेर यस्तो प्रक्षेपण गरिने भएपनि सुदूरपश्चिम प्रदेशमा निर्यात मुलक उद्योग एउटा पनि नहुँनु, आयात निर्यात नाका नहुनु लगायत कारण पनि अर्थतन्त्रमा पछि पर्नु स्वभाविक भएको मन्त्रालयका सचिव ढकालले बताउनुभयो ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र दुई खर्ब ९४ अर्ब पुग्ने अनुमान गरिएको छ। जुन अघिल्लो आर्थिक वर्षभन्दा २० अर्बले मात्र बढि हो।
मुलुकको कुल गार्हस्थ उत्पादनमा सुदूरपश्चिम प्रदेशको हिस्सा ७ दशमलव २१ प्रतिशत मात्र रहने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ। यो कर्णालीबाहेक सबै प्रदेशभन्दा कम हो।
सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि विषयगत मन्त्रालयहरूलाई बजेटको सिलिङ पठाइसकेको छ। मन्त्रालयले सशर्त अनुदानबाहेक २३ अर्ब ८९ करोड रुपैयाँको बजेट सिलिङ पठाएको हो।
कोरोना महामरीको दोस्रो लहर गाउँगाउँसम्म फैलिएर मृत्युदर भयावह भइरहेको अवस्थामा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै अस्पताल निर्माण र अक्सिजन प्लान्ट तत्कालै जडान गर्न सकिने गरी आगामी बजेट केन्द्रीत हुन सके मात्रै अहिलेको अवस्थामा बजेटको सार्थकता रहने देखिन्छ।
साथै तथ्याङ्क विभागले प्रक्षेपण गरेको प्रतिवेदनलाई आधार मानि अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत बजेट कार्यान्वयनमा जोड दिनु आवश्यक छ।





प्रतिक्रिया