युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक पुगेका छन् । उनीहरूले एक पेजको पत्रमा हस्ताक्षर गर्दै युद्ध अन्त्य गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार १४ बुँदे प्रारम्भिक सहमतिपत्र तयार हुने चरणमा पुगेको छ । प्रस्तावमा इरानको आणविक कार्यक्रम सीमित गर्ने, प्रतिबन्ध हटाउने तथा हर्मुज जलमार्ग खुला गर्ने विषय समावेश छन् । इरानले प्रस्ताव अध्ययन गरिरहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिको सम्भावना रहेको बताउँदै अहिलेको प्रयास असफल भए थप बमबारी हुने चेतावनी दिनुभएको छ ।
मध्यस्थता गर्दै आएको पाकिस्तानले युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको जनाएको छ । पछिल्लो प्रस्तावअनुसार इरानले आफ्नो आणविक कार्यक्रम अन्तर्गत भइरहेको युरेनियम समृद्धि प्रक्रिया निश्चित समयका लागि पूर्ण रूपमा रोक्ने प्रतिबद्धता जनाउनेछ । यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका आर्थिक तथा व्यापारिक प्रतिबन्धहरू हटाउने र रोकिएका सम्पत्तिहरू फिर्ता गर्ने तयारी गर्नेछ । यसले इरानको अर्थतन्त्रलाई राहत दिने र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध पुनः सुधार हुने अपेक्षा गरिएको छ ।
इरान–अमेरिकाबीच फेरि वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा कच्चा तेलको भाउ ११ प्रतिशतले घटेको छ । दुई देशबीच पाकिस्तानको मध्यस्थतामा एक महिनाअघि युद्धविराम भए पनि हर्मुज क्षेत्रमा तनाव कायमै छ ।
विश्वको झन्डै २० प्रतिशत कच्चा तेल तथा ग्यास आपूर्ति हुने मार्गमा दुई महिनाभन्दा लामो समयदेखि देखिएको अवरोधले विश्वभर नै तेल, प्राकृतिक ग्यास तथा रासायनिक मलको सङ्कट उत्पन्न भएको छ ।




