दार्चुला । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाउनुभएको छ । संसदीय दलका नेतासमेत रहनुभएका शाहले बुधबार (आज) दिउँसो २ बजे बस्ने गरी दलको बैठक बोलाउनुभएको हो।
बजेटको विषयमा विवाद बढेपछि शाहले ३१ असारमा एमालेका चार मन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको थियो। सोही दिन एमालेले शाह सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि सरकार अल्पमतमा परेको थियो । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाह बिहीबार भोलिसम्म राजिनामा नदिए स्वत: पदमुक्त हुनुहुनेछ। तर, शाहले अल्पमतमा परेको २९औं दिनमा बुधबार कांग्रेस संसदीय दलको बैठक बोलाउनुभएको हो। बैठकपछि शाहले पदबाट राजीनामा दिने बताइएको छ।
कांग्रेसका एक सांसदले भन्नुभयो, प्रदेश प्रमुखलाई सोझै राजीनामा दिने कि प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गरी प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाउने भन्ने विषयमा मुख्यमन्त्रीले परामर्श गरिरहनुभएको छ।
कांग्रेस नेता शाह नेकपा एमालेको समर्थनमा २० साउन २०८१ मा दोस्रोपटक प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुुक्त हुनुभएको थियो। पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बन्नुभएका शाहले २२ चैत २०८० मा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिनुभएको थियो तर फेरि नेतृत्व गर्ने अवसर शाहले नै पाउनुभयो।
शाहले राजिनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेबीच केन्द्रमा भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री अब खगराज भट्ट बन्नुहुनेछ। शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुनेछ। त्यसपछि एमालेको समर्थनमा भट्टलाई मुख्यमन्त्री बनाउने तयारी छ। प्रदेश सरकारको नेतृत्वको विषयलाई लिएर नेकपाभित्र मतभिन्नता सुरु भएको थियो तर, पार्टी केन्द्रको अगुवाईमा विवाद निरुपण भइसकेको दाबी गरिएको छ ।
नयाँ सरकार बन्ने भएपछि नेकपा र एमालेभित्र मन्त्रीका लागि हानथाप भइरहेको छ । एमालेले समेत भट्ट नेतृत्वको सरकारमा कसलाई मन्त्रीका रुपमा पठाउने भन्ने निर्णय लिइसकेको छैन्। छिट्टै मन्त्रीमण्डल टुंगो लगाएर काममा गति दिने तयारी रहेको नयाँ मुख्यमन्त्रीका दाबेदार भट्टले बताउनुभयो।





प्रतिक्रिया