दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाका एक युवाले गाउँपालिका अध्यक्षलाई खुला पत्र लेख्दै अध्यक्ष निर्वाचित भएदेखि हालसम्म पालिकामा भएका विकास निर्माणका कामहरूको सम्पूर्ण विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्।
डिलाशैनी गाउँपालिका–५ थामु टोलका निरज साउदले गाउँपालिका अध्यक्षलाई सम्बोधन गर्दै खुला पत्रमार्फत पालिकामा भएका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत्, सिँचाइ, भवन निर्माण, रोजगारीलगायत विकासका योजनाको विवरण सार्वजनिक गर्न माग गरेका हुन्।
खुल्ला पत्र:-
श्रीमान् पालिका अध्यक्षज्यू,
डिलाशैनी गाउपालिका बैतडी
विषय: तपाईं अध्यक्ष निर्वाचित भएदेखि हालसम्म पालिका तथा मेरो गाउँमा भएका विकासका कामहरूको विवरण सार्वजनिक गर्न सम्बन्धमा खुला पत्र।
महोदय,
सादर नमस्कार।
तपाईं पालिका अध्यक्षको जिम्मेवारीमा आउनुभएको दिनदेखि हालसम्म हाम्रो पालिका र विशेषगरी मेरो गाउँमा के–कस्ता विकासका कामहरू भएका छन् भन्ने विषयमा आम नागरिकलाई स्पष्ट जानकारी हुन आवश्यक छ।
त्यसैले तपाईं अध्यक्ष भएदेखि हालसम्म पालिकाले गरेका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत्, सिँचाइ, भवन निर्माण, रोजगारी तथा अन्य विकासका योजनाहरूको सम्पूर्ण विवरण सार्वजनिक गरिदिनुहुन अनुरोध गर्दछु।
विशेषगरी प्रत्येक योजनाको नाम, स्थान, स्वीकृत बजेट, खर्च भएको रकम, काम सम्पन्न भएको अवस्था, काम गर्ने ठेकेदार/उपभोक्ता समिति तथा योजनाबाट लाभान्वित नागरिकको विवरण समेत सार्वजनिक गरिदिनुहोस्।
यो कुनै व्यक्तिगत आरोप वा विरोधका लागि नभई जनताले आफूले तिरेको कर तथा राज्यबाट आएको बजेट कहाँ र कसरी खर्च भइरहेको छ भन्ने कुरा जान्न पाउने अधिकार भएकाले गरिएको सामान्य नागरिकको प्रश्न हो।
हामी जनताले विकासका कामको वास्तविक अवस्था बुझ्न र पालिकाको कामप्रति विश्वास कायम गर्न यस्ता विवरण पारदर्शी रूपमा सार्वजनिक भएको देख्न चाहन्छौँ।
अतः तपाईं अध्यक्ष भएदेखि हालसम्म भएका सम्पूर्ण विकास निर्माणका कामहरूको विवरण जनतासमक्ष सार्वजनिक गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद।
भवदीय,
नाम: निरज साउद
गाउँ/टोल: डिलाशैनी गाउपालिका वार्ड नम्बर ५ थामु टोल
पालिका: डिलाशैनी गाउपालिका बैतडी





प्रतिक्रिया