बैतडीको डिलासैनी–५ थामुमा सडक निर्माणका क्रममा भएको कटिङका कारण पहिरोले घर भत्कियो

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका–५ थामुमा सडक निर्माणका क्रममा गरिएको कटिङपछि पहिरो जाँदा स्थानीय शेरबहादुर साउदको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। सडक निर्माणका क्रममा घरनजिकै गरिएको डबल कटिङका कारण पहिरो गएको साउदको गुनासो छ।

साउदका अनुसार कर्कलेदेखि जिरो पोइन्ट हुँदै थामु, बासिगाउँ, दौतला हुँदै डिलासैनी गाउँपालिकासम्म सडक निर्माण भइरहेको क्रममा आफ्नो घरको छेउमा डबल कटिङ गर्न लाग्दा परिवारले सडक नकाटिदिन आग्रह गरेको थियो। तर डिलासैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा पूर्वाधारतर्फबाट खटिएका इन्जिनियरले घरको सुरक्षाका लागि राम्रो पर्खाल निर्माण गरिदिने आश्वासन दिएपछि सडक कटिङ अघि बढाइएको उहाँको भनाइ छ।

सडक कटिङपछि वर्षाका क्रममा घरको पिल्लरसम्मको भाग पहिरोले बगाएको साउदले बताउनुभयो। त्यसपछि आफूले पटक–पटक गाउँपालिका अध्यक्ष र वडाध्यक्षसँग घरको व्यवस्थापन तथा सुरक्षाका लागि आग्रह गरे पनि समस्या समाधान नभएको उहाँको गुनासो छ।

समयमै आवश्यक व्यवस्थापन हुन नसकेपछि गत भदौमा आएको अविरल वर्षाका क्रममा पहिरोले घरमा थप क्षति पुर्‍याउँदै घर पूर्ण रूपमा भत्किएको साउदले बताउनुभयो। घर भत्किएपछि गत वर्ष भदौदेखि नै आफू र परिवारका सदस्यहरू अर्काको घरमा बस्दै आएको उहाँको भनाइ छ।

साउदका अनुसार घर निर्माणमा करिब ३० लाख रुपैयाँ खर्च भएको थियो भने अझै १५ लाख रुपैयाँ तिर्न बाँकी छ। अर्को ठाउँमा घर बनाउन आफूसँग जग्गा नभएको र भएको घरसमेत पहिरोले भत्किएपछि परिवारको बसोबास नै समस्यामा परेको उहाँले बताउनुभयो।

“घरको छेउमा सडक नकाटिदिन आग्रह गरेका थियौँ। राम्रो पर्खाल लगाइदिन्छौँ भनेर सडक कटिङ गरियो। पछि घरमा क्षति पुगेपछि पटक–पटक व्यवस्थापन गरिदिन आग्रह गर्दा पनि सुनुवाइ भएन। अहिले घर नै भत्किएको छ र परिवार लिएर अर्काको घरमा बस्नुपरेको छ,” साउदले गुनासो गर्नुभयो।

सडक निर्माणका क्रममा आवश्यक सुरक्षा संरचना निर्माण नगर्दा आफ्नो घरमा क्षति पुगेको साउदको आरोप छ। उहाँले सडक निर्माणका कारण भएको क्षतिको स्थलगत मूल्यांकन गरी घर पुनर्निर्माण वा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ।

सार्वजनिक पूर्वाधार निर्माणका क्रममा स्थानीयको निजी सम्पत्तिमा क्षति पुगे त्यसको उचित व्यवस्थापन र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने भए पनि लामो समयसम्म समस्या समाधान नभएको भन्दै साउदले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?