धन बहादुर धामी । बैतडी सदरमुकाम गोठालापानीको एउटा खुद्रा पसलमा सामान किन्न म लाइनमा उभिएको थिएँ। पसल अगाडि ग्राहकहरूको भिड थियो। त्यहीँ एक जना वृद्ध हजुरआमा पनि हुनुहुन्थ्यो। मेरो ध्यान भने पूरै पसले दाइतिर थियो। म हतारमा पनि थिएँ।
तर ती हजुरआमाको ध्यान भने मतिर रहेछ। मलाई त्यसको कुनै आभास थिएन।
एकाएक उहाँ भक्कानिन थाल्नुभयो। सबै ग्राहकको ध्यान हजुरआमातिर गयो। मेरो ध्यान पनि उतै पुग्यो। उहाँ असह्य पीडामा जस्तै धरधरी रोइरहनुभएको थियो।
म चकित परेँ। ‘के भयो होला हजुरआमालाई?’ भनेर अरू ग्राहकहरूलाई सोधेँ। कतै बिरामी पो पर्नुभयो कि भनेर। अरू ग्राहकहरू पनि अक्क न बक्क थिए। कसैलाई केही थाहा थिएन।
तर ती हजुरआमा झन् मेरो अगाडि सर्नुभयो र मेरो शरीरलाई बेस्सरी च्यापेर धरधरी रुनुभयो। उहाँ झन् भक्कानिनुभयो।
मैले पनि आफूलाई सम्हाल्न सकिनँ। ‘हजुरआमालाई के भयो? किन यसरी रुनुभएको?’ भन्दै सम्झाउन थालेँ। अरू ग्राहकहरूले पनि उहाँलाई सम्झाउने प्रयास गरिरहे।
ती पसले दाइलाई भने उहाँ भक्कानिनुको कारण थाहा रहेछ। उहाँलाई सम्झाउँदै पसले दाइले भन्नुभयो, ‘विगत सम्झेर केही हुँदैन, आफूलाई सम्हाल्नुहोस्।’
केही बेरपछि हजुरआमा अलि शान्त हुनुभयो। त्यसपछि उहाँले मलाई मसिनो गरी एक–एक गर्दै धेरै कुरा सोध्नुभयो। मैले उहाँका प्रश्नको जवाफ दिइरहेँ।
धेरै कुरा सोधिसकेपछि उहाँ मसँग छुट्टिन खोज्नुभयो। उहाँलाई चाहिने सामान उहाँले अगाडि नै किनिसक्नुभएको रहेछ।
‘म जान्छु नाना’ भन्दै उहाँले मलाई थुप्रै आशीर्वादका शब्दहरू दिनुभयो।
तर उहाँलाई त्यसै पठाउन मेरो मनले मानेन। मैले उहाँका लागि केही खानेकुरा किनिदिएँ। सुरुमा उहाँले लिन मान्नुभएन। मैले निकै कर गरेपछि बल्ल समात्नुभयो। फेरि मलाई त्यसको पैसा दिन खोज्नुभयो। मैले लिइनँ।
उहाँ छुट्टिनुभयो। छुट्टिँदै गर्दा पनि थुप्रै आशीर्वाद दिइरहनुभयो। अनि फेरि भक्कानिँदै टाढा जानुभयो।
म भने उहाँ परसम्म पुग्दासम्म एकटकले हेरिरहेँ।
हजुरआमा बाटोमा अलि ढल्किनुभयो। उहाँ ढल्किएपछि पसले दाइले मलाई बिस्तारै भन्नुभयो—
‘उहाँले केही समयअघि मात्रै तपाईंकै जस्तै अनुहार र जिउडाल भएको नाति गुमाउनुभएको थियो।’
त्यो कुरा सुनेपछि म केही बोल्न सकिनँ।
सायद, उहाँले मेरो अनुहारमा आफ्नै नातिको अनुहार देख्नुभएको थियो। मेरो शरीरमा आफ्नै नातिको जिउडाल भेट्टाउनुभएको थियो। त्यही सम्झनाले उहाँको मनमा दबिएर बसेको पीडा फेरि बल्झिएको थियो।
दैव त! कति निष्ठुरी छस्! कति आमाहरूलाई यसरी तड्पाइ–तड्पाई बाँच्न विवश पारेको छस्!
धामी जगदम्बा माध्यमिक विद्यालय दशरथचन्द नगरपालिका–८ रानीवुंगा, बैतडीमा शिक्षक हुनुहुन्छ ।





प्रतिक्रिया