दार्चुला — दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित टिंकरमा यस वर्षको पहिलो हिमपात भएको छ। केही दिनदेखि लगातार भारी वर्षा र हिमपात भइरहेको टिंकर क्षेत्रमा करिब तीन फिटसम्म हिउँ जमेको छ। हिमपातका कारण स्थानीयको जनजीवन प्रभावित हुनुका साथै आवतजावतसमेत अत्यन्त कठिन बनेको छ।
स्थानीय अनुरोध टिंकरीका अनुसार लगातारको वर्षा र हिमपातका कारण विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। विद्युत्का पोल तथा अन्य संरचनामा पूर्ण रूपमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो।
टिंकरमा अहिले बाली भित्र्याउने समयसँगै विभिन्न पूजा तथा धार्मिक पर्वसमेत चलिरहेको छ। यस कारण सामान्य समयभन्दा बढी मानिस गाउँमा रहेको उहाँले बताउनुभयो।
तीन फिटसम्म हिउँ जम्नुका साथै विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयको दैनिक जनजीवन थप प्रभावित भएको छ।





प्रतिक्रिया