भारी वर्षा र बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै शैल्यशिखरमा विपद् प्रतिकार्यको पूर्वतयारी

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले असोज ९ गतेदेखि ११ गतेसम्म हुनसक्ने प्रतिकूल मौसम तथा भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालेको छ।

नगर प्रमुख विजय सिंह धामीको अध्यक्षतामा आज बसेको विपद् प्रतिकार्य पूर्वतयारी बैठकले सम्भावित बाढी, पहिरो तथा नदी तटीय क्षेत्रमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक तयारी गर्ने निर्णय गरेको हो।

मौसम विज्ञान विभाग र जिल्ला प्रशासन कार्यालय दार्चुलाले पटक–पटक जारी गरेका सूचनाअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म मौसम प्रतिकूल भई ठूलो वर्षा हुनसक्ने सम्भावना रहेको छ। सो अवधिमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले दार्चुला जिल्ला उच्च जोखिममा रहेको भन्दै शैल्यशिखर नगरपालिकाले सरोकारवाला निकायसँग छलफल गरी पूर्वतयारी तथा प्रतिकार्यको अवस्था लेखाजोखा गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, जन स्वास्थ्य अधिकृत शिवदत्त जोशीले जानकारी दिनुभयो ।

बैठकले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सूचना तथा जानकारी सर्वसाधारणसम्म प्रवाह गर्ने, विपद् प्रतिकार्य तथा उद्धारका लागि खुला क्षेत्र र कमाण्ड पोस्ट इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा राख्ने निर्णय उहाँले बताउनुभयो ।

त्यस्तै, विपद्का समयमा तत्काल उद्धार तथा परिचालन गर्न शैल्यशिखर नगरपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख अधिकृत भोजराज भट्टको संयोजकत्वमा विपद् प्रतिकार्य टोली गठन गर्ने निर्णय गरिएको छ।

मौसम पूर्वानुमानअनुसार जोखिमपूर्ण अवधि भएकाले गोकुलेश्वर अस्पतालमा एम्बुलेन्स नभएको अवस्थालाई ध्यानमा राख्दै शैल्यशिखर नगरपालिका–१ स्थित शिखर स्वास्थ्य चौकीको एम्बुलेन्सलाई जोखिमको अवधिभर गोकुलेश्वर अस्पतालमा राख्ने व्यवस्था मिलाउन वडा कार्यालयसँग समन्वय गर्ने निर्णयसमेत गरिएको जोशीले बताउनुभयो ।

बैठकमा शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेल, वडा नम्बर ९ का वडा अध्यक्ष प्रजापति पण्डे, नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख भोजराज भट्टसहित इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?