रसुवा बाढीपछि दार्चुलाका ४ र बैतडीका ८ जना सम्पर्क विहिन, खोजी गरिदिन परिवारको आग्रह

दार्चुला । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि दार्चुलाका चार र बैतडीका आठ जना गरी १२ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, कर्मचारी तथा जलविद्युत आयोजनामा कार्यरत नागरिक रहेका छन्।

दार्चुलाको लेकम गाउँपालिका–४ दह घर भई हाल नेपाली सेनाको श्रीनाथ गणमा दरबन्दी रहेका तथा सुरक्षा बेस टिमुरे, रसुवामा इन्चार्जका रूपमा कार्यरत सहायक सेनानी देबसिंह धामी पनि बाढीपछि सम्पर्कविहीन हुनुभएको पारिवारिक स्रोतले जनाएको छ। बुधबार बिहान भोटेकोशीमा बाढी आएपछि उहाँ संग सम्पर्क हुन नसकेको हो।

धामीसहित दार्चुलाका शैल्यशिखर नगरपालिका घर भई टिमुरे भन्सार कार्यालयमा कार्यरत नरेशदत्त जोशी, त्रिशूली जलविद्युत–१ आयोजनामा कार्यरत शैल्यशिखर–८ का जयधन जोशी र दुहुँ गाउँपालिका–५ का नेपाली सेनामा कार्यरत विकास ठकुरी सम्पर्कविहीन हुनुहुन्छ ।

यस्तै, भोटेकोशीमा आएको बाढीपछि बैतडीका आठ जना पनि सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डिलाशैनी गाउँपालिकाका तीन, सुर्नया गाउँपालिकाका दुई तथा सिगास, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकाका एक–एक जना सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा सुर्नया गाउँपालिका–६ मोतीनगरका ३१ वर्षीय हरिश चन्द, सुर्नया–५ बिष्टपालीका २५ वर्षीय केशव विष्ट, डिलाशैनी–७ धामीगाउँका ३२ वर्षीय पूर्णसिंह धामी र सोही ठाउँका २७ वर्षीय विशाल धामी रहेका छन्।

त्यस्तै डिलाशैनी–२ छेपट्टाका सशस्त्र प्रहरी जवान विनिता बोहरा पनि सम्पर्कविहीन हुनुहुन्छ।

दोगडाकेदार गाउँपालिका–२ का प्रहरी सहायक हवलदार हिक्मत महरा, पञ्चेश्वर गाउँपालिका–६ बिजुलका ४० वर्षीय देवबहादुर चन्द र सिगास गाउँपालिका–७ का २३ वर्षीय लक्ष्मण ऐर पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ऐर इलामस्थित इलाका वन कार्यालयमा कार्यरत हुनुहुन्थ्यो। परीक्षा दिन नुवाकोट गएको समयमा उहाँ सम्पर्कविहीन हुनुभएको बताइएको छ।

रसुवा बाढीपछि सम्पर्कविहीन भएका आफन्तको अवस्था अज्ञात रहेकाले परिवारजन चिन्तित बनेका छन्।

परिवार तथा आफन्तले सम्पर्कविहीन व्यक्तिहरूलाई देख्नुभएका, भेट्नुभएका वा उनीहरूको अवस्थाबारे कुनै जानकारी पाउनुभएका व्यक्तिलाई नजिकको प्रहरी कार्यालय, नेपाली सेना वा सम्बन्धित परिवारलाई जानकारी गराइदिन आग्रह गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहे पनि भौगोलिक कठिनाइ, सडक तथा सञ्चार सम्पर्कमा आएको समस्याका कारण सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न चुनौती भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?