दार्चुला । शैल्यशिखर नगरपालिका–५ बरमुडेमा रहेको लटिनाथ आधारभूत विद्यालयले विद्यार्थीको दिवा खाजासम्बन्धी प्रकाशित समाचारप्रति खण्डन गर्दै विद्यालयले दिवा खाजाको रकम हिनामिना नगरेको स्पष्ट पारेको छ।
विद्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार वास्तविक तथ्य र परिस्थितिसँग मेल नखाने तथा विद्यालयको अवस्थालाई गलत रूपमा प्रस्तुत गर्ने किसिमको भएको जनाएको हो।
विद्यालयका अनुसार चालु शैक्षिक सत्रको वैशाख, जेठ र असार महिनाका लागि दिवा खाजा सञ्चालन गर्न ५८ हजार ८२० रुपैयाँ प्राप्त भएको थियो। तर उक्त अवधिमा विद्यालयमा कार्यालय सहयोगीको अभाव, शिक्षक–शिक्षिकाको संख्या कम हुनु तथा दिवा खाजा पकाउने र व्यवस्थापन गर्ने जनशक्तिको अभावका कारण खाजा सञ्चालन गर्न नसकिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार वैशाख २० गतेदेखि कार्यालय सहयोगी अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त रहेको थियो। पालिकाले निर्धारण गरेको मेनुअनुसार खाना पकाउने कार्यका लागि स्थानीय व्यक्ति, कृषक समूह तथा सहकारीलाई अनुरोध गरिए पनि कोही तयार नभएपछि निर्धारित अवधिमा दिवा खाजा सञ्चालन गर्न नसकिएको विद्यालयको भनाइ छ।
विद्यालयले दिवा खाजाका लागि प्राप्त ५८ हजार ८२० रुपैयाँ खर्च नभई विद्यालयको खातामै मौज्दात रहेको समेत स्पष्ट पारेको छ।
विद्यार्थीलाई लामो समयसम्म दिवा खाजाबाट वञ्चित गरिरहन उचित नहुने भन्दै विद्यालय व्यवस्थापन समितिको भदौ ५ गते बसेको बैठकले अस्थायी रूपमा दैनिक ज्यालादारीमा जनशक्ति व्यवस्थापन गरेर भए पनि दिवा खाजा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। सोही निर्णयअनुसार हाल विद्यालयमा दिवा खाजा सञ्चालन भइरहेको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवसिंह डागा र प्रधानाध्यापक रमेशप्रसाद विष्टद्वारा जारी विज्ञप्तिमा खाजा सञ्चालन गर्न नसकेको अवस्थाप्रति विद्यालय परिवारले क्षमासमेत मागेको छ।
विद्यालयले प्रकाशित समाचारले विद्यालयको वास्तविक अवस्थालाई गलत रूपमा प्रस्तुत गरेको भन्दै सम्बन्धित सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै, रकम खर्च नभई खातामै रहेको र हाल दिवा खाजा सञ्चालनमा ल्याइसकिएको तथ्यलाई सार्वजनिक गर्दै समाचारको खण्डन गरेको हो।





प्रतिक्रिया