दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ सिरोडा घर भएका युवा सुनिल खत्रीले शारदा ब्यारेजको बीचबाट महाकाली नदीमा हाम फालेका छन्। श्रीमतिसंगको खटपट वा तनावले आफु बाच्न नसक्ने अवस्थामा पुगेको बताउने २७ वर्षीय खत्रीको अवस्था अझै अज्ञात छ । खोजतलास भइरहेको भएपनि अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्र मणी गिरीले बताउनुभयो । भारतमा काम गर्दै आएका खत्री बिहीबार राति महेन्द्रनगरस्थित आफ्नो दिदी दिपा धामीको घर डेरामा पुगेका थिए । शुक्रबार त्यहाँबाट निस्किएका सुनिल भारततर्फ हिडे । गड्डाचौकी पार गरेपछि आउने शारदा ब्यारेज पुगेपछि खत्रीले दिदी दिपालाई भिडियो कल गर्दै दिदी म गए, त्यसलाई नछाड्नुहोला भनेका थिए भने सामाजिक सञ्जाल फेसबुकमा समेत लाइभ गरेको देखिन्छ ।
भारतीय नागरिकले खत्रीलाई हाम फाल्नुअघि देखेपछि त्यस्तो नगर्न भनेका थिए तर उनले ज्यानका प्रवाह नै नगरि महाकालीमा हाम फालेका थिए । उनकी दिदी दिपाले शारदा ब्यारेजबाट महाकालीमा हाम फालिरहेको कुरा थाहा पाएपछि नेपाल प्रहरीको १०० नम्बरमा तत्काल खबर गर्नुभएको थियो । प्रहरी टोली त्यहाँ पुग्न नपाउदै उनले नदीमा हाम फालेर सम्पर्कविहिन भइसकेको बताइएको छ । अहिलेसम्म खोजतलास भइरहेको बताइएपनि उर्लिएको महाकालीमा स्वास त के लास समेत भेटाउन मुस्किल देखिन्छ। परिवारजनले न्यायको माग गर्दै प्रहरीमा जाहेरी दिन खोजेपनि अहिलेसम्म जाहेरी दर्ता भएको छैन्। आफन्तहरुले नेपाल प्रहरी समेत रहेकी श्रीमती बिमला भाटका कारण सुनिलले महाकालीमा हाम फाल्नुपरेको भन्दै अनुसन्धान र कार्वाहीको माग गरिरहेका छन। भाट जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत भइ अहिले विदामा रहेको प्रहरीले जनाएको छ ।
सुनिल र बिमलाको आठ महिनाअघि गत वर्षको मंसिरमा मात्र हिन्दु परम्पराअनुसार विवाह भएको थियो । उनिहरुबीच सम्बन्धमा विवाह गरेको केही समयदेखि नै खटपट हुन थालेको पारिवारीक स्रोत बताउँछ । खत्रीकी दिदी दिपाकाअनुसार जापानमा रहेकी बहिनीमार्फत बिमला भाट आफैले सुनिललाई विवाहको प्रस्ताव गरेकी थिइन् । तिम्रो दाई मन पर्यो म उसँग विवाह गर्छु भनेपछि बहिनीले घरमा कुरा चलाएकी थिइन् । तर, आफैले रोजेर विवाह गरेका सुुनिल र उनको सम्बन्ध भने बिग्रिदै अहिलेको अवस्थामा आइपुगेको बताइन्छ। बेपत्ता सुनिलका परिवारकाअनुसार विवाह गर्नुुअघि बेरोजगार अवस्थामा रहेका खत्रीसँग विवाह गरेपछि भविष्यमा उतारचढाव आउन सक्छ समेत भनेका थिए तर उनले आफ्नो जागिरले परिवारको सबथोक व्यर्होर्ने भन्दै विवाह गरेको दाबी गरिएको छ ।
बिबाहपछि सुनिललाई तनाव दिएर जे गर्छस गर भनेर धम्की दिने गरेको बताइन्छ । उनले अर्कै पुुरुषसँग सम्बन्ध भएपछि सुुुनिललाई टाढा बनाउन खोजेको आरोप छ । बिमला भाटले खत्रीसँग विवाह भएका बेलाका धेरै फोटो, भिडियो समेत सामाजिक सञ्जालबाट मेटाएको बताइन्छ । तर, सुनिल खत्री भने उनलाई प्रेम गर्ने गरेको तर प्रेम सम्बन्ध राम्रो नरहेको उनले सामाजिक सञ्जालमा लेखेका स्टाटसबाट प्रष्ट हुन्छ । महाकालीमा हाम फाल्नुुअघि समेत खत्रीले श्रीमती बिमलालाई सम्झाउने प्रयास गरेको एउटा अडियो क्लीप सार्वजनिक भएको छ । उक्त अडियोमा बिमलाले श्रीमान भारतबाट अहिले नै किन नेपाल आएको ? भनेर आक्रोश पोखेको सुनिन्छ भने उद्देश्य पूरा गरि छिटो भारततिरै फर्किन भनेकी छन् । सुनिलले विवाह गर्नुुअघि नै केटी मन पर्ने कुरा किन नभनेको भनेका छन् । तर बिमलाले आफ्नो अधिकारको कुरा भएको बताउँदै जे पो गरौँ भनेकी छन् । श्रीमती बिमलासँगको वादविवादकै कारण खत्री तनावमा परेको देखिन्छ । त्यसपछि नै उनले महाकाली नदीमा हाम फाल्ने निर्णय लिएको देखिएको छ । उनका आफन्तले बिमलाकै कारण खत्री यो अवस्थामा पुगेकाले उनलाई कारवाही हुनुपर्ने माग गरेका छन् । आफन्तहरुका अनुसार सुनिलका भाइको पनि स्वास्थ्य अवस्था राम्रो छैन्। भारतमै काम गर्ने बुबा घटना सुनेपछि स्वदेश आएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान बिमला भाटले श्रीमानसँग वादविवाद हुने गरेको भएपनि यो तहको निर्णय लिन्छन् भन्ने कुरा कल्पनासम्म नगरेको भन्दै आफूबाट गल्ती भएको स्वीकारेकी छन् ।
बिरामी रहेको भन्दै भाटले जिल्ला प्रहरी कार्यालयबाट ७ दिनअघि मात्र बिदा लिएकी थिइन् । शनिबारसम्म उनी बिदामै रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटना भारतमा भएको भन्दै नेपालमा मुद्धा दर्ता गर्न मिल्ने नमिल्ने विषयमा कानुनी परामर्श भइरहेको जनाएको छ । पीडित परिवारले प्रहरीले पनि सहयोग नगरेको भन्दै न्यायको माग गरिरहेका छन्।





प्रतिक्रिया