दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले आफ्ना काम-कारबाहीलाई थप पारदर्शी र उत्तरदायी बनाउँदै सेवा प्रवाहको यथार्थ अवस्था आम जनसमुदायमा पुर्याउने उद्देश्यले मासिक रूपमा ‘अपि स्मारिका’ प्रकाशन गर्ने भएको छ।
गाउँपालिकाको मिति २०८३ साल साउन २७ गते बसेको कर्मचारी बैठकले स्मारिका नियमित रूपमा प्रकाशन गर्ने निर्णय गरेको हो। स्मारिका सम्पादन तथा प्रकाशनको सम्पूर्ण व्यवस्थापनका लागि गाउँपालिकाका शिक्षा अधिकृत मदनराज जोशीको संयोजकत्वमा ५ सदस्यीय ‘स्मारिका प्रकाशन कार्यदल’ गठन गरिएको छ। गाउँपालिकाका सूचना अधिकारी समेत रहनुभएका शिक्षा अधिकृत जोशीको संयोजकत्वमा गठित कार्यदलमा नरहरि ठेकरे, धर्मानन्द भट्ट, हेमबहादुर बोहरा र कमल सिंह रोकाया सदस्य रहनुभएको छ।
गाउँपालिकाले सञ्चालन गरेका विकास निर्माणका योजना, शिक्षा, स्वास्थ्य, कृषि तथा सार्वजनिक सेवा प्रवाहको अवस्था र स्थानीय सरकारका गतिविधिहरूलाई पारदर्शी रूपमा नागरिकसामु ल्याउन यो पहल सुरु गरिएको हो।
गठित कार्यदलका संयोजक जोशीका अनुसार स्मारिकाको पहिलो अङ्क आगामी भाद्र मसान्तभित्र प्रकाशन भई बजार तथा जनसमुदायमा पुग्नेछ। स्मारिका प्रकाशनले गाउँपालिका र स्थानीय नागरिकहरूबीचको सूचना आदानप्रदानलाई सहज बनाउनुका साथै सुशासन अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर बिष्टले बताउनुभयो।





प्रतिक्रिया