दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापना कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख ७८ हजार २४९ रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँपालिकाका अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोष तथा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूको सेवा–सुविधा र पारिश्रमिकबाट रकम कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिनेछ।
भदौ २२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट १ लाख रुपैयाँ तथा गाउँपालिका अध्यक्षको सेवा सुविधाबाट २० हजार रुपैयाँ सहयोग गरिनेछ। त्यस्तै, उपाध्यक्षको सेवा सुविधाबाट १२ हजार रुपैयाँ, ६ जना वडा अध्यक्षको सुविधाबाट ३६ हजार रुपैयाँ र ६ जना कार्यपालिका सदस्यको सुविधाबाट १८ हजार रुपैयाँ सहयोग गरिने भएको छ।
यसैगरी २४ जना गाउँसभा सदस्यको सुविधाबाट ३० हजार रुपैयाँ, अधिकृतस्तरका कर्मचारीको सात दिनको पारिश्रमिकबाट २ लाख ७२ हजार २७१ रुपैयाँ, सहायकस्तरका कर्मचारीको पाँच दिनको पारिश्रमिकबाट ३ लाख २६ हजार ५७ रुपैयाँ र कार्यालय सहयोगीको दुई दिनको पारिश्रमिकबाट १३ हजार ५३३ रुपैयाँ कट्टा गरिने सूचनामा उल्लेख छ।
शिक्षकहरूको पारिश्रमिकबाट पनि रकम सहयोग गरिने भएको छ। निजामती अधिकृतस्तर सरहका शिक्षकको पारिश्रमिकबाट ३ लाख ९ हजार २४३ रुपैयाँ र निजामती सहायकस्तर सरहका शिक्षकको पारिश्रमिकबाट ७ लाख १८ हजार १४५ रुपैयाँ सहयोग गरिने गाउँपालिकाले जनाएको छ।
त्यस्तै, गाउँपालिका करार कर्मचारी तथा शिक्षकबाट २ लाख ४० हजार रुपैयाँ र करार श्रेणीविहीन कर्मचारी, विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताबाट १ लाख ८३ हजार रुपैयाँ सहयोग गरिनेछ।
गाउँपालिकाले विभिन्न शीर्षकबाट संकलन हुने उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिने जनाएको छ।
गाउँपालिकाले जारी गरेको विवरणअनुसार सहयोग रकमको कुल योग २२ लाख ७८ हजार २४९ रुपैयाँ रहेको छ।





प्रतिक्रिया