उमेश सिंह धामी, दार्चुला । २०५४ भदौ २६ गते प्रकाशित एउटा लेखको शीर्षक थियो—‘कालापानी काठमाडौंलाई किन दुख्दैन ?’ उक्त लेख लेख्नुभएको थियो, दार्चुलाका तत्कालीन सांसद प्रेमसिंह धामी।
त्यो लेख प्रकाशित भएको भोलिपल्टै, २०५४ भदौ २७ गते, नुवाकोटको मदानपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा धामीको निधन भयो। कालापानीको विषयलाई राष्ट्रिय राजनीतिक बहसमा निरन्तर उठाइरहेका धामीको मृत्युले उहाँको अभियानलाई रोक्यो, तर उहाँले उठाएको प्रश्न भने रोकिएन।
आज स्व. धामीको २९औँ स्मृती दिवस । २९ वर्षपछि पनि त्यही प्रश्न नयाँ सन्दर्भमा उभिएको छ।
यसबीचमा महाकालीमा धैरै पनी बगिसकेको छ । उहाँले उठाएका लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दाले निकास पाउनुको सट्टा अतिक्रमणको गति अझ बढ्ने क्रममा छ ।
२००९ सालमा भाद्र २९ गते दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ (साविकको मालिकार्जुन गा.वि.स. वडा नम्बर ८) भौतडि घट्ट गाउँमा जन्मिएका धामीको नेपालको राष्ट्रियता, जिल्लाको विकास र दार्चुलाको राजनीतिक पहुँच केन्द्रसम्म बिस्तार गर्नुमा ठुलो योगदान रहेको छ । पञ्चायत कालसम्म जागिर गरेर बहुदलको स्थापना संगै राजनितिक मैदानमा होमीएका धामीले २०४९ सालमा तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुभयो । २०४९ सालदेखि पार्टीको महाकाली ईन्चार्ज र तत्कालीन मालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाउनुभएको थियो ।
धामीले २०५१ सालको सम्पन्न प्रतिनिधिसभाको मध्यावधिक चुनावमा बिजय हुदै संसदमा प्रतिनिधित्व गर्नुभयो । साथै २०५१ सालमा पहिलो पटक मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ९ महिने कम्युनिष्ट सरकारमा आवास तथा भौतिक योजना राज्य मन्त्रीसमेत बन्नुभयो । १५ ससदस्यीय मन्त्री मण्डलमा राज्यमन्त्रीको भुमिका समेत सफलताका साथ निर्वाह गर्नुभएका धामीले विकाससंगै राष्ट्रियताको रक्षाका खातिर पटक पटक आवाज उठाएर राष्ट्रिय राजनीतिमा चर्चा कमाउनुभयो । सरकार बिघटन भयको केही समयपछि नेपालमा नेकपा माओवादीले सशस्त्र संघर्ष सुरू गर्यो । धामीले २०५३ सालमा माओवादी समस्या समाधान कार्यदलको संयोजक भएर समेत काम गर्नुभएको थियो ।
नेकपा एमालेसँग आबद्ध धामी दार्चुलाबाट राष्ट्रिय राजनीतिमा स्थापित नेता हुनुहुन्थ्यो।
तर उहाँको राजनीतिक परिचय पदका कारणभन्दा कालापानी, महाकाली नदीको मुहान, सीमा र सुदूरपश्चिमको विकासका विषयमा उठाएको निरन्तर आवाजका कारण बढी स्थापित भयो। उहाँले महाकाली सन्धि र महाकाली नदीको मुहानसम्बन्धी बहसमा समेत फरक मत राख्नुभएको थियो। कालापानीको विषय संसद् र सार्वजनिक बहसमा उठाउँदै उहाँले यसलाई राष्ट्रिय सरोकारको विषय बनाउन महत्वपूर्ण भूमिका थियो।
‘काठमाडौंलाई कालापानी किन दुख्दैन ?’
२०५४ भदौ २६ गते धामीको लेख सार्वजनिक भयो। शीर्षक थियो—‘कालापानी काठमाडौंलाई किन दुख्दैन ?’ लेखको केन्द्रमा एउटा प्रश्न थियो—नेपालको सीमासँग जोडिएको कालापानीमा विदेशी सुरक्षाकर्मीको उपस्थिति रहँदा राजधानी काठमाडौं त्यस विषयमा किन पर्याप्त संवेदनशील देखिँदैन ?
धामीले कालापानीलाई दार्चुलाको स्थानीय समस्या बनाएर छोड्न नहुने र यसलाई राष्ट्रिय प्रश्नका रूपमा हेर्नुपर्ने धारणा अघि सार्नुभएको थियो । त्यो समय कालापानी अहिलेको जस्तो राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा थिएन। धामीको लेखले भने त्यसलाई काठमाडौंको राजनीतिक बहससँग जोड्यो।
लेखपछि धामीको निधन:
धामीले कालापानीसम्बन्धी लेख प्रकाशित गरेको भोलिपल्टै उहाँको सवारी दुर्घटनामा निधन भयो। नुवाकोटको मदानपुर क्षेत्रमा भएको जीप दुर्घटनामा उहाँको निधन भएको विभिन्न प्रकाशित अभिलेखमा उल्लेख छ। धामीको मृत्युपछि सार्वजनिक वृत्तमा विभिन्न आशंका र चर्चा अहिले पनि हुने गरेका छन् ।
धामीको निधन भएको २९ वर्षमा नेपालमा ठूलो राजनीतिक परिवर्तन भयो। राजतन्त्र समाप्त भयो। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। संविधान फेरियो। सरकारहरू फेरिए।
तर कालापानीको सीमा विवाद भने समाधान भएन। बरु २०७६ सालमा भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय पुनः नेपालमा तीव्र बहसको विषय बन्यो।
त्यसको प्रतिक्रियास्वरूप नेपालले २०७७ सालमा (त्तकालिन केपि शर्मा ओली नेतृत्वको सरकारले) लिम्पियाधुरासहित कालापानी र लिपुलेक समेटिएको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्यो। पछि संविधान संशोधनमार्फत नयाँ नक्सालाई संवैधानिक मान्यता दिइयो। नेपालको आधिकारिक नक्सामा अहिले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएका छन्। सीमा क्षेत्रमा सडक, सञ्चार, सुरक्षा, प्रशासन, विद्यालय, स्वास्थ्य संस्था र नागरिकको स्थायी बसोबासले राज्यको उपस्थिति बलियो बनाउँछ।
दार्चुलाको तिङ्करसम्म सडक पुर्याउने विषय वर्षौँदेखि राष्ट्रिय बहसमा छ। महाकाली करिडोर र तिङ्करसम्मको सडकलाई विकाससँगै सीमा क्षेत्रको पहुँच र सुरक्षासँग जोडेर हेरिँदै आएको छ। हरेक चुनावी बाँचापत्रमा कालापानी प्राथमिकतामा परे पनि बजेटमा कहिले प्राथमिकता पाउँदैन । उक्त क्षेत्र जोड्ने गरि निर्माण भईरहेको दार्चुला टिंकर सडक वर्षाै देखि प्रर्याप्त बजेट विनियोजन नहुँदा अलपत्र जस्तै छ ।
यो क्षेत्रमा अहिले पनि राज्यको प्रयाप्त उपस्थिती छैन् । अर्काे तर्फ भारत र चिनले उक्त क्षेत्रलाई व्यापारिक केन्द्रका रुपमा अगाडी बढाउँदै विकास निर्माणलाई तिव्रता दिएका छन् । नेपाली भूमी कालापानी हुँदै अहिले भारत र चिनले व्यापार गर्दै आएका छन् ।
२०५४ सालमा धामीले काठमाडौंसँग प्रश्न गर्दा कालापानीको मुद्दा राजधानीको प्राथमिकतामा थिएन। आज अवस्था केही हदसम्म फरक छ। कालापानी नेपालको आधिकारिक राजनीतिक नक्सामा छ। संसद्मा छ। राजनीतिक दलका घोषणापत्र र भाषणमा छ। सामाजिक सञ्जालमा छ।
तर प्रश्न अझै बाँकी छ—
सीमावर्ती नागरिकको दैनिक जीवनमा काठमाडौं कति छ? यही ठाउँमा धामीको प्रश्न नयाँ अर्थमा फर्किन्छ।
उहाँले ‘काठमाडौंलाई कालापानी दुख्छ कि दुख्दैन?’ भनेर सोध्नुभएको थियो।
आज हामीले सोध्नुपर्ने प्रश्न हो—
काठमाडौंलाई कालापानी दुख्छ भने त्यसको प्रमाण कहाँ देखिन्छ ?
कूटनीतिमा ? बजेटमा ? सीमा पूर्वाधारमा रु प्रशासनिक उपस्थितिमा ? वा केवल भाषणमा ?
‘कालापानी हाम्रो हो’ भन्न सजिलो छ। तर सीमासम्म सडक पुर्याउनु कठिन छ। सीमावासीलाई राज्यको सेवा दिनु कठिन छ। सीमामा युवालाई रोक्ने रोजगारी सिर्जना गर्नु कठिन छ। ऐतिहासिक प्रमाणलाई व्यवस्थित गरेर कूटनीतिक टेबलमा बलियो रूपमा प्रस्तुत गर्नु कठिन छ। त्यसैले धामीको विरासतलाई केवल ‘राष्ट्रवादी नेता’ भनेर सम्झिनु पर्याप्त हुँदैन। उहाँको वास्तविक प्रश्न थियो—राष्ट्रवादको बोली र राज्यको व्यवहारबीचको दूरी कति छ ?
प्रेमसिंह धामीको २९औँ स्मृति दिवसमा उहाँलाई सम्झने औपचारिक कार्यक्रम हुन्छन्। माल्यार्पण हुन्छ। भाषण हुन्छ। कालापानीको चर्चा हुन्छ। तर स्मृति दिवसलाई साँच्चिकै अर्थपूर्ण बनाउने हो भने एउटा काम गर्नुपर्छ—
२९ वर्षअघि २०५४ सालमा धामीले काठमाडौंलाई सोध्नुभएको थियो ‘कालापानी काठमाडौंलाई किन दुख्दैन ?’ धामीले सोधेको प्रश्नको २०८३ सालसम्मको जवाफ खोज्नुपर्छ।
२९ वर्षमा के उपलब्धि भयो ? के बाँकी छ ? नक्सापछि अर्को कदम के भयो ? सीमामा राज्यको उपस्थिति कति बढ्यो ? सीमावर्ती नागरिकको अवस्था कति फेरियो ?
जबसम्म सीमामा नेपाली राज्यको प्रभावकारी उपस्थिति, नागरिकको सहज पहुँच र कूटनीतिक रूपमा दीर्घकालीन समाधान स्थापित हुँदैन, तबसम्म प्रेमसिंह धामीको त्यो प्रश्न केवल स्मृतिको विषय बन्न सक्दैन।
सायद त्यसैले कालापानी आज पनि काठमाडौंलाई दुखिरहनुपर्ने विषय हो—नक्सामा मात्र होइन, नीति, कूटनीति, विकास र राष्ट्रिय प्राथमिकतामा।
२९ वर्षपछि प्रश्न फेरिएको छैन।
केवल प्रश्न सोध्ने व्यक्ति छैन।
कालापानी नक्सामा छ।
अब काठमाडौंको संवेदना व्यवहारमा देखिन बाँकी छ।





प्रतिक्रिया