दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिका–३ स्थित पाथा र कसौती गाउँमा यस वर्ष स्याउ उत्पादन राम्रो भएको छ। गाउँका झण्डै ५० परिवारले व्यावसायिक तथा परम्परागत रूपमा स्याउखेती गर्दै आएका छन्। तर, उत्पादन राम्रो भए पनि बजार अभाव र ढुवानीको समस्याका कारण किसानले स्याउ बिक्री गर्न नसकेको गुनासो गरेका छन्।
पाथा र कसौती गाउँमा कलमी, गाला र इटालियन फुजी जातका उन्नत स्याउ प्रशस्त फलेका छन्। व्यावसायिक स्याउखेती गर्दै आएका किसानले उत्पादन भएको स्याउ बजारसम्म पुर्याउन कठिनाइ भोगिरहेका छन्।
पाथास्थित हिमालयन कृषि फार्मका सञ्चालक कपुरसिंह धामीले ५०० भन्दा बढी स्याउका बोटबाट यस वर्ष १५ देखि २० क्विन्टलसम्म स्याउ उत्पादन भएको बताउनुभयो। तर, बजार र ढुवानीको समस्याका कारण उत्पादित स्याउ बिक्री गर्न नसकिएको उहाँको गुनासो छ।
“गाउँमा सबै परिवारले स्याउखेती गरेका छन्। एक सयभन्दा बढी बोट भएका १०–१२ परिवार छन्। अरूले अलिअलि बिक्री गरे, आफन्तलाई दिए। आफ्नो त १० क्विन्टलजति स्याउ त्यत्तिकै छ,” धामीले भन्नुभयो।
उहाँका अनुसार गाउँमै प्रतिकिलो एक सय रुपैयाँका दरले करिब एक क्विन्टल स्याउ बिक्री भएको छ। तर, स्याउ गाडीसम्म पुर्याउन एक दिन पूरै लाग्ने र गाडीमा पुर्याएपछि पनि बिक्री हुने वा नहुने निश्चित नहुँदा समस्या भएको उहाँले बताउनुभयो।
अपी हिमाल–३ कै कसौती गाउँमा जनकसिंह कार्कीले पनि व्यावसायिक रूपमा स्याउखेती गर्दै आउनुभएको छ। पाथाभन्दा अझै टाढा रहेको कसौतीबाट स्याउ ढुवानी गर्न झन् कठिन हुने भएकाले त्यहाँका किसान पनि बजार अभावका कारण चिन्तित छन्।
यसैबीच, पाथा गाउँमा तीन वर्षअघि घरेलु तथा साना उद्योग विकास कार्यालयले निर्माण गरेको चिस्यान केन्द्रमा अहिले किसानको स्याउ भण्डारण गरिएको छ। कपुर धामीको करिब १० क्विन्टलसहित अन्य किसानको समेत गरी १५ देखि २० क्विन्टल स्याउ चिस्यान केन्द्रमा थन्किएको छ।
विद्युत् आपूर्ति नियमित नहुँदा चिस्यान केन्द्रमा लामो समयसम्म स्याउ राख्नुपर्ने अवस्था आएमा उत्पादन बिग्रिने चिन्ताले किसान थप समस्यामा परेका छन्।
स्याउ उत्पादन राम्रो भए पनि बजार, ढुवानी र भण्डारण व्यवस्थापनको समस्याका कारण किसानले अपेक्षित लाभ लिन नसकेको अवस्था छ। स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने सहज व्यवस्था नहुँदा पाथा र कसौतीका स्याउ किसानको मेहनतले उचित मूल्य पाउन सकेको छैन। रासस





प्रतिक्रिया