जापानबाट जन्मभूमिसँग जोडिँदै दिलेन्द्र जोशी, लेकममा ‘प्रथम दशैं कप–२०८३’ आयोजना गरिदै

दार्चुला। विदेशमा रहेर पनि आफ्नो जन्मभूमिसँग सामाजिक, तथा खेलकुद गतिविधिमार्फत जोडिँदै आएका युवा दिलेन्द्र प्रसाद जोशीको नेतृत्व तथा पहलमा लेकम गाउँपालिकामा “प्रथम लेकम गाउँपालिका दशैं कप–२०८३” पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

बडादशैंको अवसरमा गाउँ फर्किने युवा तथा स्थानीय खेलाडीलाई एउटै खेलमैदानमा जोड्ने, स्थानीय प्रतिभाको पहिचान गर्ने, विभिन्न वडा बीच आपसी सद्भाव, भाइचारा र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगिता हुनैनाथ माध्यमिक विद्यालय, रातामाटामा २०८३/०६/२९ गतेदेखी सञ्चालन हुनेछ। टिम दर्ताको अन्तिम मिति २०८३/०६/२८ गते तोकिएको छ भने प्रत्येक टिमका लागि रु. ३,००० मात्र दर्ता शुल्क निर्धारण गरिएको छ।

दिलेन्द्र जोशीकै पहलमा ‘Youth Sports & Social Club’

लेकमका युवालाई खेलकुदसँगै सामाजिक तथा रचनात्मक गतिविधिमा दीर्घकालीन रूपमा जोड्ने उद्देश्यले दिलेन्द्र प्रसाद जोशीको पहलमा “Youth Sports & Social Club (युथ स्पोर्ट्स एण्ड सोसल क्लब)” स्थापना हुन लागेको छ। जोशी क्लबका संस्थापक तथा परिकल्पनाकार हुन्। क्लबलाई कुनै एउटा प्रतियोगितामा सीमित नराखी खेलकुद, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, कला–संस्कृति, युवा प्रतिभा पहिचान तथा सामाजिक सचेतनाका क्षेत्रमा काम गर्ने गैरनाफामूलक संस्थाका रूपमा अगाडि बढाउने योजना रहेको जोशीले बताउनुभयो।

यस क्लबको पहिलो प्रमुख कार्यक्रमका रूपमा “प्रथम लेकम गाउँपालिका दशैं कप–२०८३” आयोजना गर्न लागिएको हो।

विजेतालाई रु. ३३,३३३

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. ३३,३३३, द्वितीय हुने टोलीलाई रु. २२,२२२ र तृतीय हुने टोलीलाई रु. ११,१११ नगद पुरस्कार प्रदान गरिनेछ।

विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आयोजकको व्यवस्थाअनुसार ट्रफी, पदक, प्रमाणपत्र तथा सम्मानसमेत प्रदान गर्ने तयारी छ।

को हुन् दिलेन्द्र प्रसाद जोशी?

लेकमकै माटोमा हुर्किएर एक दशक भन्दा अगाडि अध्ययन र रोजगारीको सिलसिलामा जापान गएका जोशी पछिल्लो समय लेकम क्षेत्रसँग जोडिएर शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक सेवा तथा कला–संस्कृतिका क्षेत्रमा सहयोगको जमर्को गरिरहेका छन। विगत करिब १३ वर्षदेखि जापानमा बसोबास गर्दै आएका नेपाली युवा उद्यमी तथा सामाजिक अभियन्ता जोशीले जापानमा अध्ययन र रोजगारीको अनुभवपछि हाल आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्।

जोशीको व्यवसायिक गतिविधि जापानको रेस्टुरेन्ट, ट्राभल तथा आयात–व्यापार क्षेत्रमा फैलिएको छ। हाल उनले जापानमा चारवटा जापानी रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। यससँगै ट्राभल एजेन्सी व्यवसाय तथा नेपालबाट नेपाली खाद्यवस्तु एवं अन्य सामान जापानमा आयात गर्ने व्यवसायमा समेत उनी संलग्न छन्।

व्यवसायलाई जापानमा मात्रै सीमित नराखी उनले नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन्। विशेषगरी शिक्षा क्षेत्रमा उनको लगानी तथा संलग्नता छ भने कृषि क्षेत्रमा समेत लगानी गर्दै आएको जोशीले बताउनुभयो। व्यवसायसँगै आफ्नो जन्मभूमिमा शिक्षा, कृषि तथा युवाको भविष्यसँग जोडिने क्षेत्रमा दीर्घकालीन रूपमा योगदान गर्ने उनको सोच रहेको छ।

जोशी आफूले अध्ययन गरेको विद्यालय तथा लेकम क्षेत्रका विभिन्न शैक्षिक र सामाजिक गतिविधिमा समय–समयमा व्यक्तिगत रूपमा सहयोग गर्दै आएका छन्। शिक्षा र स्वास्थ्यसँगै खेलकुद, कला तथा संस्कृतिप्रति उनको विशेष रुचि रहेको छ। संगीत तथा गायनमा समेत रुचि राख्ने उनी जापानमा नेपाली समुदायका विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

सामाजिक गतिविधिसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीसम्बद्ध प्रवास नेपाली सम्पर्क विभागको जापान संरचना निर्माणमा पनि संलग्न रहे र यसको प्रारम्भिक संगठन निर्माण तथा सञ्चालनमा संस्थापक प्रमुखको जिम्मेवारीसमेत सम्हाले।

व्यवसायसँगै जन्मभूमिप्रतिको जिम्मेवारी

जोशीको सोचमा व्यवसायको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित हुनु हुँदैन। आफूले आर्जन गरेको अनुभव, ज्ञान र स्रोतको केही हिस्सा समाज र जन्मभूमिको सकारात्मक परिवर्तनमा जोडिनुपर्ने उनको धारणा छ।

विशेषगरी युवा पुस्तालाई अवसर र जिम्मेवारी दिनुपर्ने तथा समयअनुसार नयाँ सोच, नयाँ योजना र सकारात्मक दृष्टिकोणसहित समाज अगाडि बढ्नुपर्ने उनी बताउँछन्।

“विदेशमा बसेर व्यवसाय गर्नु वा सफलता हासिल गर्नु मात्रै पर्याप्त होइन। आफू जन्मिएको ठाउँ, आफूले पढेको विद्यालय र आफू हुर्किएको समाजका लागि हामीले के गर्न सक्यौँ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ,” जोशीको भनाइ छ।

उनका अनुसार गाउँको विकास सडक र भवनजस्ता भौतिक पूर्वाधारमा मात्रै सीमित हुँदैन। गुणस्तरीय शिक्षा, आधुनिक कृषि, स्वस्थ समाज, खेलकुदमा सक्रिय युवा र आफ्नो कला–संस्कृतिप्रति गर्व गर्ने नयाँ पुस्ताको निर्माण पनि विकासका महत्वपूर्ण आधार हुन्।

यही सोचअनुसार शिक्षा र कृषिमा लगानीसँगै अब खेलकुदलाई पनि सामाजिक अभियानसँग जोड्ने प्रयासस्वरूप Youth Sports & Social Club स्थापना र प्रथम लेकम गाउँपालिका दशैं कप–२०८३ आयोजना गर्न लागिएको हो।

किन ‘दशैं कप’?

दशैंका बेला अध्ययन, रोजगारी तथा अन्य कारणले बाहिर रहेका धेरै युवा गाउँ फर्किने भएकाले यही अवसरलाई खेलकुद र सामाजिक एकतासँग जोड्ने उद्देश्य रहेको जोशी बताउँछन्।

“दशैं परिवार भेट्ने पर्व मात्रै होइन, गाउँबाट विभिन्न ठाउँमा पुगेका युवाहरू फेरि एक ठाउँमा भेटिने अवसर पनि हो। यही अवसरमा खेलकुदमार्फत युवालाई जोडौँ, एकअर्कालाई चिनौँ र हाम्रो गाउँका प्रतिभालाई अगाडि ल्याऔँ भन्ने सोचबाट यो अभियान सुरु गरेका हौँ,” उनले बताए।

उनका अनुसार प्रतियोगिता कुनै एक व्यक्ति वा समूहमा सीमित नरही भविष्यमा सम्पूर्ण लेकमवासीको साझा खेलकुद उत्सवका रूपमा विकास होस् भन्ने उद्देश्य छ।

दीर्घकालीन योजना

यसपटक पुरुष भलिबल प्रतियोगिताबाट सुरुवात गरिए पनि आगामी दिनमा महिला खेलाडीलाई समेत अवसर प्रदान गर्दै विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्ने योजना छ। त्यससँगै सामाजिक गतिविधि बढाउने उदेश्य रहेको जोशीको भनाइ छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?