दार्चुला । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता दीपक खातीले उम्मेदवारी दिनुभएको छ।
१२ वर्षदेखि नेविसंघमा क्रियाशील खातीले ३५ वर्षमुनिको युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएको हो।
२०७३ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा दार्चुला बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भएपछि खातीको राजनीतिक यात्रा अघि बढेको हो। नेविसंघको जिल्ला समिति सदस्य हुँदै जिल्ला प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएका खाती विद्यार्थी तथा युवामाझ लोकप्रिय र अध्ययनशील नेताका रूपमा परिचित हुनुहुन्छ।
कठिन आर्थिक तथा सामाजिक परिवेशका बाबजुद पार्टी संगठनले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको खातीले बताउनुभएको छ।
उहाँले भन्नुभयो, “लामो समयदेखि नेविसंघका विभिन्न समितिमा बसेर जिम्मेवारी निर्वाह गरिसकेँ। अब पार्टी राजनीतिमा प्रवेश गर्दैछु। कठिन भूगोलबाट राजनीतिक यात्रा गर्दा सिंगो पार्टी र युवा विद्यार्थी दुवै पक्षले गरेको विश्वासलाई कहिल्यै डगमगाउन दिएको छैन। त्यसैले आसन्न १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि स्वाभाविक रूपमा आफ्नो उम्मेदवारी दिएको छु।”
नेपाली कांग्रेस आफ्नो लागि पार्टी मात्र नभई अप्ठ्यारोमा सहारा र एक्लोपनमा परिवारसमेत भएको खातीले बताउनुभएको छ।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेस मेरो लागि केवल पार्टी मात्र होइन, मेरो अप्ठ्यारोको बैसाखी र एक्लोपनमा परिवारसमेत हो।”
कांग्रेसका कारण आफूमा आत्मबल र उत्साह बढेको उल्लेख गर्दै खातीले हालसम्म साथ, सहयोग र विश्वास गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ।
महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनुभएका खातीले भुइँतहमा सँगै संघर्ष गरेका दौंतरीदेखि पार्टीका अग्रज नेता तथा कार्यकर्तासम्मलाई सहयोगका लागि अपिल गर्नुभएको छ।
महाधिवेशन प्रतिनिधिको दौडमा रहनुभएका खाती यतिबेला खलंगामा जिल्ला नेता, स्थानीय तहबाट निर्वाचित सभापति तथा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाटमा रहनुभएको छ।





प्रतिक्रिया