दार्चुला । दुहुँ गाउँपालिकामा लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
बुधबार (आज) दुहुँ गाउँपालिकाको कार्यालयस्थित सभाहलमा प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाको आयोजना तथा दुहुँ गाउँपालिकाको समन्वय र सहजीकरणमा सञ्चालित कार्यक्रममा लागुऔषध नियन्त्रण, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहका विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले छलफल गरिएको थियो।
कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष तथा वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि, स्थानीय पत्रकार, स्थानीय बासिन्दा तथा सेवाग्राहीहरूको सहभागिता रहेको थियो।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय दार्चुला, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुला र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा लागुऔषध नियन्त्रणका लागि समुदायस्तरबाट खेल्नुपर्ने भूमिका र नागरिकलाई प्रभावकारी सेवा प्रवाहका विषयमा सचेतना तथा अन्तरक्रिया गरिएको जनाइएको छ।





प्रतिक्रिया