दार्चुलाको अपिहिमालका दुर्गम बस्तीमा हेलिकप्टरबाट पोल ढुवानी, लाइन पुगे पनि मिटरको पर्खाइमा स्थानीय

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाका दुर्गम बस्तीमा विद्युत् विस्तारको काम तीव्र पारिएको छ। सडक तथा बाटोघाटोको पहुँच कठिन भएका क्षेत्रमा हेलिकप्टरमार्फत विद्युत्का पोल ढुवानी गरेर विद्युत् विस्तारको काम अघि बढाइएको हो।

अपिहिमाल गाउँपालिका–१, २ र ६ का विभिन्न बस्तीमा पैदलमार्गबाट पोल ढुवानी गर्दा जोखिम हुने भएकाले हेलिकप्टर प्रयोग गरि पोल ढुवानी गरिएको डोल्पा–दार्चुला विद्युत् प्रोजेक्टका प्रोजेक्ट म्यानेजर मनोज बस्नेतले जानकारी दिनुभयो।

उहाँका अनुसार दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत पोल ढुवानी गर्दा लागत बढी लागे पनि समयमै विद्युत् विस्तार गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। सिप्टी, खाइकोटलगायतका अति दुर्गम बस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम तीव्र रूपमा भइरहेको उहाँले बताउनुभयो।

यसअघि अपिहिमालका लागि आवश्यक विद्युत् ट्रान्सफर्मरसमेत हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो। सर्वे गरिएका सबै स्थानमा पोल ढुवानी भइसकेकाले अब छिट्टै लाइन विस्तार गरिने बस्नेतले बताउनुभयो।

उहाँका अनुसार हाल अपिहिमालसँगै अन्य छुटफुट बस्तीमा समेत विद्युत् विस्तारको काम भइरहेको छ। व्याँस गाउँपालिकाका केही वडा बाहेक जिल्लाका अधिकांश क्षेत्रमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ। यस अघि प्रोजेक्टले आफ्नै लगानीमा रोपव्हे निर्माण गरेर विद्युत विस्तारका सामग्री ढुवानी गरेको थियो । दुर्गम क्षेत्रका नागरिकलाई छिटो भन्दा छिटो केन्द्रीय प्रसारण लाइन संग जोड्न आफुहरुले कुनै कसर बाँकी नराख्ने बस्नेतले बताउनुभयो । लगानी बढी नै भए पनि समयमै विद्युत विस्तारको काम सक्ने गरि काम भईरहेको उहाँले बताउनुभयो ।

लाइन पुग्यो, मिटरको पर्खाइ

विद्युत् विस्तारको काम अघि बढिरहेका बेला लाइन चार्ज भएको महिनौँ बितिसक्दा पनि मिटर नपाएको स्थानीयको गुनासो भने कायमै छ।

नेपाल विद्युत् प्राधिकरणले समयमै विद्युत् मिटर उपलब्ध नगराउँदा लाइन पुगेका ठाउँका स्थानीयले विद्युत् उपभोग गर्न नपाएको गुनासो गरेका छन्। अपिहिमाल गाउँपालिकाका विभिन्न ठाउँका स्थानीयहरुले लाइन चार्ज भएको महिनौ सम्म पनि मिटर नपाएको स्थानीय हेम बोहराले बताउनुभयो ।

डोल्पा–दार्चुला विद्युत् प्रोजेक्टका प्रोजेक्ट म्यानेजर बस्नेतका अनुसार हजारौँ विद्युत् मिटर आवश्यक रहे पनि प्राधिकरणबाट समयमै उपलब्ध हुन नसक्दा समस्या भएको हो।

तर नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाका सूचना अधिकारी पुष्कर बमले लाइन चार्ज भएका स्थानमा मिटर वितरण भइरहेको बताउनुभयो। उहाँका अनुसार अपिहिमालका केही स्थानमा विद्युत् चार्ज भइसके पनि आवश्यक कर्मचारीको अभावका कारण मिटर जडानमा समस्या देखिएको हो।

कार्यालयमा अहिले विद्युत् मिटर मौजदात रहेको बताउँदै बमले अपिहिमालका केही फाइल कार्यालयमा आएर रोकिएको जानकारी दिनुभयो। एउटै टोलका केही घरमा विद्युत् लाइन पुगेको र केही घरमा बाँकी रहेको अवस्था तथा सम्बन्धित क्षेत्रका लागि कर्मचारी अभाव हुँदा मिटर वितरणमा समस्या भएको उहाँले बताउनुभयो।

अपिहिमालमा एकदेखि दुई महिनाभित्र कर्मचारी व्यवस्थापन गरी सबै ठाउँमा मिटर जडानको प्रक्रिया अघि बढाइने बमले बताउनुभयो।

यसरी अपिहिमालका दुर्गम बस्तीमा विद्युत् पोल तथा ट्रान्सफर्मर हेलिकप्टरमार्फत ढुवानी गरेर लाइन विस्तारको काम अघि बढे पनि लाइन पुगेका कतिपय ठाउँमा मिटर जडान हुन नसक्दा स्थानीयले विद्युत् उपभोगका लागि अझै पर्खिनुपरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?