दार्चुला । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिन लाग्दा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आआफ्नो दाबी प्रस्तुत गर्नुभएको छ ।
सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीकासाथ विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका भट्टराई यादव पक्षका सांसद र एमालेका खनाल नेपाल समूहका नेताहरूको हस्ताक्षरसहित देउवा शितल निवास पुग्नुभएको हो ।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२, नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल पक्षका २६ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएको छ ।
शुक्रबार दिउँसो विपक्षी गठबन्धनहरू पुग्नुभन्दा पहिला नै शितल निवासमा पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गर्नुभएको छ ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओलीले एमाले संसदीय दलको नेताको हैसियतमा आफूले र जसपाका ३२ सांसदको तर्फबाट संसदीय दलका नेता राजेन्द्र महतोले गरेको हस्ताक्षर राष्ट्रपति भण्डारीलाई बुझाउनुभएको हो ।
‘नेकपा (एमाले) का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ’, एमाले नेता विष्णु रिमालले भन्नुभयो, ‘दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ।’
जसपामा केही दिनअघिमात्रै महन्थ ठाकुर र राजेन्द्र महतो समूहले महतोलाई संसदीय दलको नेता चुनेको थियो।
प्रधानमन्त्रीमा दाबी पेश गरेर ओली शितल निवासबाट बाहिरिइ सक्नुभएको छ । १४९ सांसदको हस्ताक्षरसहित कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी पेश गर्न गएका विपक्षी गठबन्धनका नेताहरू अहिले पनि शितल निवासमै हुनुहुन्छ ।





प्रतिक्रिया