शैल्यशिखरमा स्वास्थ्यकर्मीहरूको चार बुँदे मागपत्र, अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने चेतावनी

दार्चुला ।दार्चुलाको शैल्यशिखर नगरपालिकामा स्वास्थ्य क्षेत्रका समस्या समाधान र कर्मचारी व्यवस्थापनको लागि स्वास्थ्यकर्मीहरुले चार बुँदे मागसहित ज्ञापन पत्र बुझाएका छन् । नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले विभिन्न ४ बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् ।

स्वास्थ्यकर्मीहरुले स्थायी दरबन्दी नपुगेको अवस्थामा करारमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको नियुक्ति नविकरण नगर्दा सेवा प्रभावित भएकोले यथासिघ्र कर्मचारी व्यवस्थापन गरिनुपर्ने, स्वास्थ्य संस्थामा उपलब्ध हुनुपर्ने ९८ प्रकारका निःशुल्क वितरण गर्नुपर्ने औषधि तथा परिवार नियोजनका अस्थायी साधन नियमित रुपमा आपुर्ती नहुँदा सेवा प्रभावित भएकोले आपुर्ती व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य संस्थाहरुमा विद्युत, इन्धन, संञ्चार तथा कार्यालय सञ्चालन र प्रशासनिक खर्चको व्यवस्था गर्नुपर्ने मागसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएका हुन् ।

स्वास्थ्यकर्मीहरुले बुझाएको ज्ञापन पत्रमा नगरपालिका अन्तर्गतको गोकुलेश्वर अस्पतालसहित वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा स्थायी दरबन्दि पूर्ण रुपमा पद पूर्ती नहुँदा स्वास्थ्य संस्था नै बन्द गर्नुपर्ने अवस्था रहेकोले कर्मचारी व्यवस्थापन गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार नगरपालिकाले सञ्चालन गरेका तीन वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र मध्ये बन्तोली आधारभूत स्वास्थ्य सेवा केन्द्र, आठ वटा सामुदायिक स्वास्थ्य ईकाई र चार वटा शहरी स्वास्थ्य ईकाई केन्द्र कर्मचारी नहुँदा पुर्ण रुपमा बन्द भएका छन् ।

गोकुलेश्वर अस्पतालसहित अन्य स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुमा करार सेवाका स्वास्थ्यकर्मी लगायत कार्यालय सहयोगी र सरसफाई कर्मीहरुको नियुक्त नगरिदा सेवा प्रभावित भएको उल्लेख गरिएको छ ।
नगरपालिकाले चालु आर्थिक बर्षको हाल सम्म पनि करार सेवामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुको म्याद थप नगर्दा स्वास्थ्य सेवा संचालन गर्न नसकिने स्वास्थ्य कर्मीहरुले बताएका छन् ।
उनिहरुले कर्मचारीको स्थायी पदपुर्ती गर्नुपर्ने वा करार सेवामै कार्यरत कर्मचारीहरुलाई नै सेवामा खटाउनुपर्ने माग राखेका छन् । स्वास्थ्यकर्मी तथा कर्मचारीको समस्या समाधान नभएमा स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेकका अन्य सेवा संचालन गर्न नसकिने ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ ।

त्यस्तै स्वास्थ्य संस्थाहरुमा हुन पर्ने न्युनतम सेवा संचालन गर्न आवश्यक पर्ने ९८ प्रकाका निःशुल्क वितरण गर्नुपर्ने औषधी, परिवार नियोजनका अस्थायी साधनहरु नियमित रुपमा आपुर्तिहुन नसक्दा सेवा प्रवाह प्रभावित भएकोले यथासिघ्र औषधी तथा उपकरणहरुको व्यवस्थापन गर्न माग गरिएको छ ।

स्वास्थ्य संस्थाहरुमा विद्युत महसुल, ईन्धन तथा संचार शुःल्क भुक्तानी गर्न आयश्रोत नहुने भएकोले गत वर्ष देखी स्वास्थ्य संस्थाहरुको विद्युत महसुल ईन्धन तथा संचार शुःल्क भुक्तानी गर्न नसकेकोले सम्पूर्ण स्वास्थ्य संस्थाहरुको महसुल भुक्तानी गरिदिन आग्रह गरिएको छ ।

त्यस्तै नगरपालिका अन्तर्गत नौ वटै वडाहरुमा संचालित सरकारी कार्यालयहरुमा कार्यालय संचालन तथा प्रशासनिक खर्च विनियोजित हुने तर नगरपालिका अन्तरगतकै स्वास्थ्य संस्थाहरुलाई कार्यालय संचालन तथा प्रशासनिक खर्च विनियोजित नहुने भएकोले स्वास्थ्य संस्थाहरुमा पनि कार्यालय संचालन तथा प्रशासनिक खर्च विनियोजन गरिदिन माग गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

उल्लेखित समस्याहरु तत्काल समाधान नभएमा स्वास्थ्य संस्थाहरुबाट अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिने र त्यस्को जिम्मेवारी नगरपालिकाले लिनुपर्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

नगर प्रमुख, नगर उपप्रमुख, जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको स्वास्थ्य शाखालाई बोर्धाथ पठाइएको ज्ञापन पत्रमा गोकुलेश्वर अस्पतालका सि.अ.न.मी. मन्जु विष्ट, शिखर स्वास्थ्य चौकीका सि.अ.हे.व. दलबहादुर खडायत, आधारभुत स्वास्थ्य सेवा केन्द्र लुईटाका सि.अ.हे.व.अ. लोकेन्द्र बहादुर चन्द, बोहरीगाउँ स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक कृष्णान्नद पन्त, रानिशिखर स्वास्थ्य चौकीका सि.अ.हे.व.अ.नारायण दत्त भट्ट, आधारभुत स्वास्थ्य सेवा केन्द्र ओखडानीका सि.अ.हे.व. लोकेन्द्र सिंह डागा, देथला स्वास्थ्य चौकीका सि.अ.न.मी उर्मीला हुम्ली र ग्वानी स्वास्थ्य चौकीका अ.न.मी सुसिला कुवरले हस्ताक्षर गर्नुभएको छ ।

यस अघि नगरपालिकामा कार्यरत ३ सय जना करार कर्मचारीको नियुक्ति नवीकरण नहुँदा कतिपय सेवा प्रभावित हुन पुगेका छन् । करार कर्मचारीको नियुक्ति नविकरण नुहँदा विशेष गरेर स्वास्थ्य संस्थामा सेवा प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षदेखि स्वीकृत दरबन्दी रिक्त भएमा ज्यालादारी वा करारमा कर्मचारी राख्नुअघि सहमति लिनुपर्ने व्यवस्था गरेपछि नगरपालिकाले गत असार महिनाबाट करारका कर्मचारीको नियुक्ति नवीकरण नगरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख भोज राज भट्टले बताउनुभयो ।

यस अघि नगरपालिका अन्तरगतका स्वास्थ्य संख्थाहरुमा ८९ जना करारका कर्मचारी कार्यरत रहेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?