छाङरु–टिंकर घोरेटो बाटो उद्घाटन: दुई दशकपछि व्याँसीको कुञ्चा नेपालकै बाटो हुँदै सदरमुकाम

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ अन्तर्गत छाङरु र टिंकरलाई जोड्ने घोरेटो बाटो गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

आफ्नै जिल्ला सदरमुकामसम्म आउजाउ गर्नसमेत अर्को देशको बाटो प्रयोग गर्न बाध्य छाङरु र टिंकरवासीको समस्या समाधानका उद्देश्यले गत वर्षबाट घोरेटो बाटो निर्माण कार्य थालिएको थियो। दुम्लीङदेखि छाङरुसम्मको ३१ किलोमिटर घोरेटो बाटो निर्माण सम्पन्न भएपछि बुधबार व्याँस गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरको अध्यक्षता तथा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा घोरेटो बाटो उद्घाटन गरिएको हो।

संघीय सरकारले गत आर्थिक वर्षमा घोरेटो बाटो निर्माणका लागि व्याँस गाउँपालिकालाई ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। सो मध्ये ४ करोड २४ लाख ५५ हजार रुपैयाँ निर्माणमा खर्च भएको निर्माण कम्पनी ‘मिशन–देवहरि जेभी’का प्रतिनिधि केशवबहादुर पालले जानकारी दिनुभयो। समय अभावका कारण काम सम्पन्न हुन नसक्दा १ करोड २५ लाख ४४ हजार रुपैयाँ फिर्ता भएको थियो।

दुई दशकपछि व्याँसीको कुञ्चा नेपालकै बाटो

घोरेटो बाटो निर्माण सम्पन्न भएपछि यस वर्ष व्याँसी सौका समुदायले वर्षौपछि नेपालकै बाटो प्रयोग गर्दै कुञ्चा (बसाइसराई) आउन–जाउन पाएका छन्।

उच्च हिमाली भू–भागमा रहेको छाङरु र टिंकरमा चिसो बढेसँगै व्याँसी सौका समुदाय हिउँदका ६ महिना सदरमुकाम खलङ्गामा बसाइसराई गर्छन् भने गर्मीयामका ६ महिना छाङरु–टिंकरमै बसोबास गर्छन्।

२५ वर्षपछि नेपालकै बाटो प्रयोग गरी कुञ्चा ल्याउन पाएको स्थानीय जनकसिंह धामीले बताउनुभयो। विगत २५ वर्षदेखि भारतको प्रशासनिक झन्झट र भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार सहँदै भारतमार्ग प्रयोग गर्न बाध्य छाङरु–टिंकरवासी यसपटक आफ्नै देशको बाटो भएर निर्वाधरूपमा कुञ्चा सर्न पाएको खुसी व्यक्त गर्दै स्थानीय योगेश बोहराले यो ऐतिहासिक परिवर्तन भएको बताउनुभयो।

योगेश बोहराकै नेतृत्वमा आएको अन्तिम कुञ्चा टोली यसपालि नेपालकै बाटो हुँदै सदरमुकाम पुगेको उहाँले जानकारी दिनुभयो।

वर्षौदेखि आफ्नै देशभित्र एक ठाउँबाट अर्को ठाउँ जाँदा भारतीय प्रशासनसँग अनुमति लिनुपर्ने बाध्यता अन्त्य भएको एमाले पोलिटब्यूरो सदस्य गणेशसिंह ठगुन्नाले बताउनुभयो।

गत वर्ष व्याँसीहरूको बाटो समस्या समाधानका लागि छाङरुदेखि दुम्लीङसम्मको ३१ किलोमिटर पैदलमार्ग निर्माण गर्न दार्चुलाबाट निर्वाचित संविधानसभा सदस्य तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नासहित स्थानीय नेताहरूको पहल र स्थानीयको मागअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संघीय सरकारले ५ करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो।

व्याँस–१ छाङरु जोड्ने बाटो नहुँदा स्थानीयवासीले भारत हुँदै पशुचौपायासहित कुञ्चा सार्नुपर्ने बाध्यता थियो। अब भने नेपालकै बाटो प्रयोग गरेर कुञ्चा सार्न सकिने व्याँस गाउँपालिकाले जनाएको छ।
कडा चट्टानी भू–भाग तम्बाकु, थी भीर, बयलीधार र अपिखोला क्षेत्रमा उच्च जोखिम मोलेर बाटो निर्माण गरिएको निर्माणमा सहभागी स्थानीय प्रेम बोहराले बताए।
गत जेठ ५ गते व्याँस गाउँपालिका र ‘मिशन–देवहरि जेभी’बीच ठेक्का सम्झौता भएको थियो।

आर्थिक वर्ष २०८१/०८२ को समयावधिमा काम नसकिने देखिएपछि असार ७ गते गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यहोर्ने गरी निर्माणको म्याद मंसिर १५ गतेसम्मका लागि थप गरेको थियो। यसका लागि गाउँपालिकाले ५० लाख रुपैयाँ छुट्याएको थियो। पूर्व सम्झौता बमोजिम असोजदेखि पुनः निर्माणकार्य सुरु भएको पालले बताउनुभयो।

टिंकर जोड्नेगरी नेपाली सेनाले सडक निर्माण कार्य गरिरहेकोमा कल्जु भीरमा ‘ट्याक’ खोल्न सेनाले सहयोग गरेको समेत पालले बताए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?