दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ । मालिकार्जुन गाउँपालिकाको आयोजनामा दार्चुलाका ४ वटा स्थानीय तह हरु मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिकाको अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो।
बैठकमा विभिन्न ८ वटा विषयमा छलफल तथा निर्णय गरिएको छ। अन्तर पालिका समन्वय तथा साझेदारी, अन्तर पालिका असल अभ्यासहरु आदानप्रदान, वृहत पूर्वाधारको विकासमा साझेदारी, विपद व्यवस्थापनमा समन्वय, दमकल तथा एम्बुलेन्स व्यवस्थापन, पर्यटन प्रविधि, संस्कृतिको विकास तथा प्रवर्द्धन र स्थानीय बजार व्यवस्थापन सम्बन्धमा छलफल तथा निर्णय भएको उहाँले बताउनुभयो।
बैठकमा अन्तरपालिका जोड्ने सडकहरु निर्माणमा सहकार्य गर्ने निर्णय गरिएको मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्यानसिंह धामीले बताउनुभयो । अन्तरपालिका जोडिएका सडकहरु रिठाचौपाता-धनथला-डाडाकोट लगायतका सडक निर्माणमा लेकम, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले सहकार्य गर्ने, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाको मालिकार्जुन-दत्तु-थाप्ला सडक मालिकार्जुन-२ सम्म ट्यार्क खुलिसकेकोले महाकाली नगरपालिकाबाट पनि सडक निर्माण गर्ने निर्णय गरिएको छ । यस्तै महाकाली र शैल्यशिखर नगरपालिकाको धाप-बरमुडे सडकलाई दुबै पालिकाले निर्माण गर्ने सहमती भएको छ।
त्यस्तै बैठकमा पालिकाका सीमाहरुमा देखिने समस्या र पूर्वाधार निर्माणमा समन्वय गरेर अगाडी बढ्ने निर्णय भएको छ। प्रेम सिंह धामी स्मृति पार्क निर्माणको लागि सहकार्य गर्ने निर्णय भएको छ । मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिका सीमा क्षेत्र चौतलीचौरामा मदिरा बेचबिखन दुबै पालिकाले सहकार्य गरि बन्द गरिएको अवस्थामा नियमित अनुगमन गर्ने, थप अनुगमन र कडाईको लागि जिल्ला प्रशासन कार्यालय संग पनि समन्वय गर्ने निर्णय भएको उपाध्यक्ष धामीले बताउनुभयो ।
त्यस्तै बैठकमा अन्तरपालिका जनप्रतिनिधि र कर्मचारी बिच सिकाई आदान प्रदान गर्ने, नियमित समन्वय गर्ने निर्णय भएको छ। चार वटै स्थानीय तह बीच समय-समयमा समन्वय बैठक सञ्चालन गर्ने सहमती भएको गाउँपालिका उहाँले बताउनुभयो । पूर्वाधार निर्माण, संस्कृति र पर्यटन प्रवर्द्धनमा समन्वय र सहकार्य गर्ने लगायत विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको बैठकमा शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिंह धामी, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ती खडायत, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट, मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्ना लगायत सरोकारवालाहरूको आतिथ्यता र सहभागीता रहेको थियो ।




