दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकालाई पूर्णखोप दिगोपना तथा सुनिश्चितता पालिका घोषणा गरिएको छ । “सुरक्षित तथा स्वस्थ नगरबासी” तथा स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागितामा पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित पूर्णखोप पालिका घोषणा गरिएको हो । नगर खोप समन्वय समिति अध्यक्ष तथा शैल्यशिखर नगरप्रमुख विजयसिंह धामीको अध्यक्षतामा आयोजित घोषणा कार्यक्रममा उपप्रमुख शान्ति खडायत, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्ट, वडाअध्यक्ष लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी र सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियोे ।
शैल्यशिखर नगरपालिकाभित्रका १५ महिना मुनीका ३२८ जना तथा १६-५९ महिनाका एक हजार २३८ बालबालिकाले खोप पाएको सुनिश्चितता भएपछि पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको सिअहेब जगदीशप्रसाद पाण्डेले जानकारी दिनुभयो । विभिन्न रोगबाट बच्न ७ पटक स्वास्थ्य संस्था पुगेर १३ प्रकारका खोप लगाउनुपर्छ, उहाँले भन्नुभयो, पूर्णखोप सुरक्षित भविष्य हो । नगरपालिकाका नौँ वटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेपछि, निर्धारित इन्डिकेटर र ‘पूर्णखोप निर्देशिकाको आधारमा यो वर्ष खोपको दिगोपना सुनिश्चित गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने भएकाले कसैलाई पनि खोपबाट वञ्चित गर्न नहुने सुझाव दिनुभयो । खोप सुनिश्चितता अभियानमा योगदान गर्ने सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । स्वास्थ्य र शिक्षा सेवामूलक कार्य भएकोले यसमा सबैको अतिरिक्त योगदान आवश्यक हुने उहाँको भनाइ छ ।
कार्यक्रमका अध्यक्ष तथा शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले अहिले खोपकै कारण शिशु मृत्युदरमा उल्लेख्य सुधार भएको तथा विभिन्न रोगबाट मुक्ति मिलेको बताउनुभयो । खोप नपाउदासम्म गाउँघरमा कति धेरै बालबालिकाले ज्यान गुमाउथे, उहाँले भन्नुभयो, अहिले स्वास्थ्य सतर्कता र खोपकै कारण बालबालिका स्वस्थ्य छन् । दादुरा, हैजा, झाडापखाला, रूबेला लगायत धेरै रोगको माहामारी फैलिने गरेकोमा अहिले खोपकै कारण रोगहरू न्यूनीकरण भएको नगरप्रमुख धामीले बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई शैल्यशिखर नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ । नगरपालिकाबाट स्वास्थ्य संस्था खोल्ने तथा सञ्चालन र व्यवस्थापनको काम गरेर गाउँगाउँमा स्वास्थ्य सेवा पुगेको बताउदै नगरप्रमुख धामीले सीमित स्रोतका कारण केही समस्याहरू चाहेर पनि समाधान गर्न कठिन रहेको बताउनुभयो । गोकुलेश्वर अस्पताललाई स्तरोन्नति तथा व्यवस्थापन गर्नेदेखि गाउँगाउँका स्वास्थ्य संस्थाको विकास र व्यवस्थापनका लागि नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख धामीको भनाइ छ ।
पूर्ण खोप सुनिश्चितता घोषणा अभियानमा सहयोग गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई कार्यक्रममा सम्मानित गरिएको छ । हामी शैल्यशिखर नगरपालिकालाई पूर्णखोप दिगोपना तथा सुनिश्चितता कायम भएको नगरपालिका बनाइराख्न मन, बचन र कर्मले प्रतिबद्ध छु भनेर घोषणा समारोहमा सहभागी सबैबाट प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ । दार्चुलाका सबै पालिका पूर्णखोप सुनिश्चित घोषणापछि जिल्लालाई समेत पूर्ण खोप दिगोपना तथा सुनिश्चितता गर्ने तयारी रहेको छ ।





प्रतिक्रिया