दार्चुला । ‘म छु आमा, चिन्ता नगर्नुहोला, सुखका दिन आउनेछन्,’ भन्ने सुवास बोहराको आवाज आज पनि आमा कैली बोहराको कानमा घन्किरहन्छ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीका २३ वर्षीय सुवासलाई आमालाई सुखका दिन देखाउने ठूलो रहर थियो । तर, त्यो रहर पूरा गर्न नपाउँदै सोमबार काठमाडौंमा जारी जेन–जेड आन्दोलनका क्रममा उनले ज्यान गुमाए ।
चार महिना अघिसम्म सुवासलाई जापान पठाउने तयारीमा आमा कैली व्यस्त थिइन् । छोरालाई विदेश पठाउने सपना बोकेर उनी भारतको बैंगलोरमा मजदुरी गर्थिन् । तर, छोरालाई पठाउनुपर्ने पैसाको जोहो पूरा हुनुअघि नै सुवासको निधन भएको खबर आयो । नागरिकता नभएकी आमा छोराको मृत शरीर हेर्नसमेत पाइनन् । पछि सहयोगीहरूको पहलमा मात्रै काठमाडौं पुग्न सकिन् ।
सुवासको शव अहिले टिचिङ अस्पतालको शवगृहमा राखिएको छ ।
‘आफैं बिरामी, त्यसमाथि भरोसाको छोरा पनि रहेन । उ भन्थ्यो – आमा, कुनै दिन हामी पनि सुखका दिनमा पुग्छौं । तर त्यो दिन देख्न नपाई छोरो गुमाएँ’ भक्कानिँदै कैलीले भनिन्।
सुवासका बुबा दिपक बोहरा लामो समयदेखि सम्पर्कविहीन छन् । जेठो छोरा गुमेपछि आमा कैली र उनका कान्छा छोरामाथि ठूलो संकट आइपरेको छ । हाल काठमाडौंमै कक्षा ९ मा अध्ययनरत कान्छो छोरा दाजुको मृत्युबाट गहिरो आघातमा छन् ।
चार दिनअघि आन्दोलनका क्रममा गोली लागेर ज्यान गुमाएका सुवास जापान जाने अन्तिम तयारीमा थिए । आवश्यक कागजी प्रक्रिया पूरा गरेर विदेश जाने योजनामा रहेका उनलाई परिवारले भविष्यको भर ठानेका थिए । तर, आकस्मिक निधनले परिवारको त्यो सपना अधुरो रह्यो । जेनजी आन्दोलनका क्रममा धेरै निर्दोष युवाहरूले अल्पायुमै ज्यान गुमाएका छन् ।




