दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ मा अवस्थित भूमिराज माध्यमिक विद्यालय काँडापारीका तीन जना विद्यार्थीमा हेपाटाइटिस ‘ए’ पोजिटिभ देखिएको छ।
विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिएपछि स्वास्थ्य कार्यालय दार्चुलाको द्रुत प्रतिकार्य (आरआरटी) टोली विद्यालयमा पुगेको थियो। टोलीले शनिबार विद्यालयमा पुगेर करिब ६० जना विद्यार्थी तथा अभिभावकको स्वास्थ्य परीक्षण गरेको जनाएको छ।
जाँचका क्रममा १० देखि १२ जना विद्यार्थीमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। प्रारम्भिक रक्त परीक्षणका क्रममा तीन जना विद्यार्थीमा हेपाटाइटिस ‘ए’ पोजिटिभ देखिएको र थप पुष्टि परीक्षणका लागि रगतको नमुना धनगढी पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टले जानकारी दिनुभयो ।
आरआरटी टोलीले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामूलक स्वास्थ्य शिक्षा समेत प्रदान गरेको उहाँले बताउनुभयो ।
साथै सरसफाइ, सुरक्षित खानेपानी र व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालयले थप परीक्षण रिपोर्ट प्राप्त भएपछि आवश्यक थप कदम चालिने जनाएको छ।




