दार्चुला । दार्चुला सदरमुकाम खलंगासहित जिल्लाभरीको सञ्चार सेवा अवरुद्ध हुदा सेवाग्राही समस्यामा परेका छन् । दार्चुलाका साथै बैतडीका समेत अधिकासं स्थानमा तीन दिनदेखि टेलिफोन र इन्टरनेट अवरुद्ध भएपछि नागरिकहरु सञ्चार सेवाबाट बञ्चित भएका छन् ।
कुनै कुनै ठाउँमा नेटवर्क बेला बेला आउने जाने भइरहेको छ, लेकम गाउँपालिकाका स्थानीय महेश खत्रीले भन्नुभयो, मोबाइलमा टावर देखाएपनि फोन नलाग्ने समस्याका कारण घर, परिवारका साथै आफन्तहरुसंग सम्पर्कविहिन हुनुपरेको छ । इन्टरनेट समेत प्रभावकारी रुपमा चलेको छैन् । सञ्चार समस्याका कारण हैरानी खेप्नुपरेको सेवाग्राहीहरुको गुनासो छ ।
रिपिटर टावरले नै काम नगरेपछि दार्चुला जिल्लाभरी रहेका दुई दर्जन बढी टावरहरुको सेवा प्रभावित भएको छ । सञ्चार सेवा अवरुद्ध भएपछि विभिन्न कार्यालयहरुका साथै आम सेवाग्राहीहरुको दैनिक कामकाज प्रभावित भइरहेको छ । सञ्चार सेवा अवरुद्ध भएको विषयमा सरोकारवालाहरुसंग सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुन सकेको छैन् ।
सञ्चार सेवा अवरुद्ध भएको दार्चुलामा विद्युत सेवा समेत अनियमित रहेको सेवाग्राहीहरुको गुनासो छ । सञ्चार र विद्युत सेवा नियमित सञ्चालन गर्न सेवाग्राहीहरुको माग छ ।




