दार्चुला । पछिल्लो समय व्यवसायीक सिलाइकटाइ गर्ने मानिसहरुको संख्या बढ्दै गएको छ । १० हजार रिण निकालेर सिलाइ व्यवसाय शुरु गर्नुभएका महाकाली नगरपालिका वडा नम्बर ४ दार्चुलाका ३९ वर्षीय राजेशसिंह नेपालीको व्यवसाय पछिल्लो समय फस्टाउदै गएको छ । २०५९ सालदेखि निरन्तर सिलाइ व्यवसाय गर्दै आउनुभएका मेहनती व्यवसायी नेपालीले अहिले आफु सहित ६ जनालाई रोजगारी समेत दिनुभएको छ ।
कक्षा ८ मा पढ्ने बेलादेखि सिलाइ शुरु गरेका नेपालीले कक्षा १० मा अद्ययन गर्नेबेलादेखि पूर्ण रुपमा सिलाइकटाइ व्यवसाय अंगाल्नुभयो । दुई दशकदेखि सिलाइ व्यवासयमा छु, उहाँले भन्नुभयो, १० हजारबाट शुरु गरेको व्यवसायबाट अहिले राम्रै आम्दानी भइरहेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ छोडेर व्यवसायमा होमिएका नेपालीले दार्चुला सदरमुकाममा मेहनत गरेर मासिक ३०–४० हजार रुपैँया मुनाफा कमाउन सफल हुनुभएको छ । विहान ६ बजेदेखि राती ९ बजेसम्म सिलाइकै काम गरेर सेवा दिदै आइरहेका छौँ, उहाँले भन्नुभयो, स्वदेशमै मेहनत गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ ।
रोजगारी नपाएर विदेशीनेहरुका लागि प्रेरणाको पात्र बनेका नेपालीले परिश्रम गर्न सके स्वदेशमै बिदेशको भन्दा राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । प्रेमसिंह धामीको शालीक जनिकबाट केहि तल सरेको राजेश सिलाइ सेन्टरमा महिला र पुरुष तथा लेडिज एण्ड जेन्सका सम्पूर्ण लुगाकपडाहरु सिलाउने गरिएको छ । कोट, पाइन्ट, दाउरा सुरुवाल पुर्खौली पहिरनलाई प्राथमिकतामा राखेर बालबालिकादेखि बृद्धबृद्धासम्मका लुगाकपडा सिलाउने गरीएको उहाँको भनाई छ । सिलाइ व्यवसायबाटै स्वदेशी तथा बिदेशी लुगाकपडा र इलेक्टोनिक मेसिन, इन्टरलक गरेर १० लाख बढीको भौतिक सम्पत्ती आर्जन गर्न सफल भएको नेपालीले बताउनुभयो ।





विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




