सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार (आज) बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नुभएको हो। अब सरकार विस्तार गरेर बजेट निर्माणको बाटो खुलेको छ।
साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले आज प्रदेश सभाबाट विश्वासको मत माग्नुभएको थियो। मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन्। उहाँका पक्षमा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन्।
विपक्षमा भने काङ्ग्रेसका १७ र राप्रपाको १ मत रहेको थियो। काङ्ग्रेसका पदम शाही, मान बहादुर रावल र मधु भारती उपस्थित नभएपछि काङ्ग्रेसका १४ र राप्रपा को १ मत गरी कुल १५ मत विपक्षमा परेको थियो । ५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा डडेल्धुराबाट निर्वाचित तारा जोशीले राजिनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिनुभएको छ। कैलालीबाट निर्वाचित प्रकाश देउवाको पद रिक्त भएको छ । कैलालीबाट निर्वाचित अर्का सांसद दीर्घ सोडारी निलम्बित हुनुहुन्छ। अब छिट्टै सरकारले पुर्णता पाउने र काममा ध्यान दिने मुख्यमन्त्री भट्टले बताउनुभयो।
सुदूरपश्चिमको समृद्धिका लागि काम गर्ने प्रतिबद्धतासहित मुख्यमन्त्री भट्टले आज विश्वासको मत माग्नुभएको हो।





प्रतिक्रिया