दार्चुला । बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको हो ।

घटस्थापनाका दिनदेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा आजदेखि जात्रा शुरु हुने र भोलि महाष्टमीका दिन बलिसहित जात्रा समापन हुने मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताउनुभयो ।

यो बर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको आठौं दिन महासप्तमी परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सोही अनुसार निङ्गलाशैनी भगवती मन्दिरमा पनि आज महासप्तमी र भोलि महाष्टमी मानिएको बोहराले बताउनुभयो ।

निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ । हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ ।

निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु मन्दिरमा पुगिसकेका छन् । नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आएका उहाँले बताउनुभयो। यो जात्रामा तीन–चार सय राँगाको बलि हुने गर्दछ ।

निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रालाई व्यवस्थित बनाउन मेला व्यवस्थापन समितिले स्वयंसेवक खटाएको छ भने स्थानीय प्रशासनले पनि मेला सुरक्षा अन्तर्गत सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बल्देव बडूले बताउनुभयो ।

निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गर्दछ । असोजको महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने गर्दछ ।

मंसिर शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमा र भाद्र शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशीका दिन यो मन्दिरमा जात्रा लाग्ने गर्दछ । यो बेलाको जात्रामा भने बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

दार्चुलासहित सुदूरपश्चिममा भव्यताकासाथ गौरा मनाइयो, खेणी, धोणी बर्षाले प्रभावित (भिडियो)

२०८२ भाद्र १७, मंगलवार १४:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?