दार्चुला । दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाली भूमीमा भारतले धमाधम तटबन्ध निर्माण गरिरहेको छ । भारतले नेपाली भूमी मिचेर दादागिरी शैलीमा तटबन्ध बनाइरहेको हो । दैनिक नेपाली भूमिमा भारतीय डोजर चलिरहदा स्थानीय प्रशासन, जनप्रतिनिधि र नेपाल सरकार तथा सरोकारवाला मौन रहेको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन् ।
२०७० सालको बाढी पछि महाकाली नदीले बहाव परिवर्तन गरेर पारी पुगेको नेपाली भूमिमा कब्जा जमाउदै भारतले तटबन्ध निर्माणको काम गरिरहेको स्थानीय अनिल ठगुन्नाले बताउनुभयो । २०७० सालभन्दा पहिले महाकाली नदी वारी रहेको र कानूनी रुपमा अहिले पनि नेपालकै नाम नक्सामा रहेको गल्फैस्थित बसपार्क महाकाली पारीको भूमिमा भारतले बाँध बाधिरहेको छ । नेपालको झण्डै ५० रोपनी भूमि नदी पारी पुगेकोमा उक्त भूमिमा भारतले स्थानीय नागरिक र प्रशासनको अनुरोधलाई अटेर गरेर तटबन्ध बनाइरहेको हो । विगतमा स्थानीयले अवरोध गर्दा रोकिएको काम अहिले फेरी सुरु भएको स्थानीय कृष्ण धामीले बताउनुभयो ।
नापी विभागको टोलीले विगतमा नापजाँच गर्दा उक्त भूमि नेपालकै रहेको पाइएपनि नापीको रिपोर्ट नै सार्वजनिक नगरिएको पत्रकार सुन्दरसिंह धामीको भनाई छ । नापी विभागको अभिलेख सार्वजनिक गरेर नेपाली भूमिमा भारतले निर्माण गरिरहेको तटबन्धको काम तत्काल रोकिनुपर्ने उहाँको भनाई छ । अहिले नदी सीमामा बगेको छैन, पत्रकार तथा स्थानीय कमलराज जोशीले भन्नुभयो, ०७० सालको बाढीपछि गल्फैको महाकाली पारी पनि नेपालको भूमि छ । उक्त भूमिमा विगतमा नेपालको बन, भू संरक्षण लगायत कार्यालय र घरहरु रहेकोमा अहिले महाकालीले बहाव परिवर्तन गरेपछि भारतले अतिक्रमण गरिरहेको उहाँले बताउनुभयो । भारतले नेपालको भूमि छोडेर मात्रै बाँध बाध्नुपर्ने नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टको भनाई छ । सार्वभौमसत्ता सम्पन्न नेपालमा भारतले यसरी सीमा मिचेर बाँध बाधिरहेकोमा आपत्ती जनाउदै उहाँले तत्काल काम रोक्न सरकारसंग अनुरोध गर्नुभएको छ।
नेपाल सरकार गृह मन्त्रालयलाई आवश्यक रिपोर्टिक गरिएको र स्थानीय स्तरमा भारतीय प्रशासनसंग काम रोक्न लिखित र मौखिक रुपमा अनुरोध गरिएपनि सुनुवाई नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । भारतलाई नेपाली प्रशासनमार्फत गरिएको अनुरोधमा बुझ्ने काम भइरहेको भन्दै अल्झाइएको पाइएको छ । काम रोक्नुको सट्टा मेसिन र जनशक्ति बढाएर काम भइरहेको छ, एकजना सुरक्षा अधिकारीले भन्नुभयो, शनिबार पाँच वटा डोजर प्रयोग गरेर उक्त क्षेत्रमा काम गरिरहेको पाइएको छ । सरकारले कुटनीतिक रुपमा फेरी विवाद नआउने गरी यो विषय समाधान गर्नुपर्ने प्रजिअ पौडेलको भनाई छ ।
नेपालतर्फ नदी तटिय क्षेत्रमा तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामाग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम विगतदेखि गर्दै आएको थियो । केही महिना पहिले भारतीय डोजर महाकाली तरेर खलंगामै आएपछि विवाद चर्किएको थियो । भारतले झन अहिले गल्फै पारीको नेपाली भूमिमै बलमिच्याइ गरेर बाँध बाध्न थालेको छ । भारतीय पक्षले विस्तारवादी ढंगले नेपाली भूमीमै स्काइभेटर चलाइरहदा दार्चुलाबासी आक्रोशित भएका छन् । अन्तर्राष्ट्रिय सन्धि–सम्झौता तथा कानून विपरीत भारतले तटबन्ध बनाइरहदा निर्वाचित जनप्रतिनिधि, नेपाली प्रशासन र सरकार मौन रहनु दुःखद छ, स्थानीय श्याम ठगुन्नाले भन्नुभयो, भारतले आफ्नै भूमिमा डोजर चलाएको निरिह भएर हेर्नुपरेको छ ।
अर्काको भूमी प्रयोग गर्नु त टाढाको कुरा सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले आफ्नै भूमीमा पनि एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैन । तर, भारतले अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर नेपालकै भूमिमा दादागिरी शैलीमा डोजर चलाइरहेको छ । नेपालतर्फबाट स्थानीयले पटकपटक भारतीय दादागिरीको विरोध गरेपनि सरकारी पक्षको उदासिनताका कारण भारतीय पक्षले धमाधम काम गर्दै आएको छ । महाकाली नदीमा पानीको सतह घटेको मौका छोप्दै नदी किनारमा भारतले धमाधम तटबन्ध बनाइरहेको छ । नेपालले यसअघि महाकाली नदी किनारको धेरै भाग छोडेर संरचना निर्माण गरेको भएपनि भारतले नदी बगेकै क्षेत्रमा नेपालको भन्दा अग्लो तटबन्ध बनाइरहेको छ । नेपालले भारतीय विस्तारवादी प्रबृत्तिका बिरुद्ध गम्भीरतापुर्वक कडा कदम चाल्न नसक्दा सीमा क्षेत्रमा अतिक्रमण बढ्दै गएको स्थानीयको गुनासो छ । यो संवेदनशील विषयमा सरकार र सरोकारवाला सबैले तत्काल गम्भीर कदम चाल्नुपर्ने आवश्यकता रहेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




