दार्चुला । दार्चुलाबाट निर्वाचित निवर्तमान सासंद तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले आसन्न निर्वाचनमा उम्मेदवार नहुने घोषणा गर्नुभएको छ। आफ्नाे पूर्व वक्तव्य अनुसार पार्टीको समयानुकूल रुपान्तरण र पुस्तान्तरणकाे आवश्यकता बाेध गरी आसन्न निर्वाचनमा उम्मेदवार हुन नचाहेकाे बडूले पार्टीलाई लिखित जानकारी गराउनुभएको छ।
नेता बडूले नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई पाैष २२ गते आसन्न निर्वाचनमा उम्मेदवारी नदिने जानकारीसहित निवेदन दिनु भएको छ । जिल्ला कार्यसमितिले पाैष २४ गते दर्ता गरेको पाइएको छ।
नेता बडूले दिएको निवेदन पढ्नुहोस्
आदरणीय सभापति ज्यु,
नेपाली काँग्रेस जिल्ला कार्यसमिति दार्चुला।
विषय : आसन्न निर्वाचनमा उम्मेदवार हुन नचाहेको सम्बन्धमा।
यहि २०८२ फाल्गुन २१ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागी उम्मेदवारी चयनका सन्दर्भमा पार्टीको केन्द्रिय परिपत्र अनुसारको जिल्ला कार्यसमितिको मिति २०८२ मंसिर २५ र २६ गतेको विस्तारित बैठकमा मैले देशको राष्ट्रिय राजनीतिक परिदृश्यमा विकसित पछिल्लो अवस्था, विशेषतः २०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन हुनुका सम्भावित राजनितिक तथा सामाजिक कारण, यसका सकारात्मक र नकारात्मक पक्षको विस्तृत समिक्षा सहित आफ्नो धारणा र सुझाव राखेको थिए। सोही क्रममा पार्टीको समयानुकुल रुपान्तरण र पुस्तान्तरणको विषयमा समेत मेरा यस अघिका प्रतिवद्धता र आन्दोलनको सकारात्मक भावना र मर्म तथा युवाहरुको आकांक्षा एवम् समयको आवाज समेतलाई सम्मान गर्दै आफूले अब उम्मेद्वारीबाट विश्राम लिने तथा पार्टीमा निरन्तर सक्रिय रहेका अन्य इच्छुक एवम् सक्षम नयाँ पुस्ताका साथीहरुलाई उम्मेदवारका लागी तयार रहन मैले आग्रहपूर्वक स्पष्ट प्रस्ताव गरेको यथार्थ पूर्ण समितिमा विदितै छ, अभिलेखित नै छ ।
मेरो उक्त चाहना, स्पष्ट सुझाव र प्रस्तावका बाबजुद विस्तारित बैठकमा उपस्थित सम्पूर्ण शुभेच्छुक साथीहरुले सर्वसम्मत रुपमा मलाई नै एकल उम्मेदवारको रुपमा प्रस्तावित गर्नु भएकोमा म प्रतिको यस सर्वसम्मत समर्थन र सदासयताका लागी आफ्नो पार्टी र पार्टीका सम्पूर्ण साथीहरुमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै उक्त पदमा उम्मेदवारीका लागी पार्टीमा निरन्तर सक्रियता पूर्वक कार्यरत अन्य सक्षम र उपयुक्त साथीहरु मध्येबाट सुदृढ एकताका साथ सिफारिस गरि पार्टी केन्द्रमा प्रेशित गर्ने व्यवस्थाका लागी आज पुनः अनुरोध गर्दै आफु सो पदका लागी उम्मेदवार हुन नचाहेको विषय समेत औपचारिक रूपमा जानकारी गराउन चाहन्छु ।
साथै, निर्वाचनमा पार्टी उम्मेदवारलाई विजयी गराउनका लागी आफ्नो पुर्ण शक्ति र क्षमताका साथ सदैव सहकार्यमा आफू सहर्ष सक्रिय रहने आफ्नो तत्परता र प्रतिवद्धता समेत व्यक्त गर्दछु । धन्यवाद, जय नेपाल !
श्री कार्यालय सचिव जि, सभापतिज्यू समक्ष पेश गर्ने।
(दिलेन्द्र प्रसाद बडू केन्द्रीय सदस्य, नेपाली काँग्रेस)
बोधार्थः
आदरणीय सभापति ज्यू
नेपाली काँग्रेस केन्द्रीय कार्यालय वि.पी. स्मृति भवन, सानेपा ललितपुर ।




