दार्चुला । धार्मिक आस्थाको केन्द्र, बरदायनी शक्तिपीठ लटिनाथ मन्दिर जयपुरमा रात्री जात्रा लागेको छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महिमा भएको जयपुरमा कात्तिक शुक्ल नवमीको बृहत जात्रा लाग्ने गर्दछ।
जयपुर जात्रा दार्चुलाको लेकम-५ रिठा भाराणी घरबाट भाराण लगेपछि दिउँसोदेखी शुभारम्भ भएको छ। भाराण जयपुर पुर्याएपछि दिनभरी पुजनजात्रा र बेलुकीदेखी दोस्रो दिनको विहानसम्म भव्य रात्रीजात्रा लाग्ने गरेको मन्दिरका भरण्या उमाकान्त बिष्टले बताउनुभयो। जात्रामा धार्मिक र सांस्कृतिक विभिन्न गतिविधिहरु गर्ने गरिन्छ। बरदान, विजय वा शक्तिको पहिचानसँग जोडिएको लटिनाथ मन्दिर स्थानीय रूपमा अत्यन्त श्रद्धा र विश्वासको धार्मिक केन्द्र मानिन्छ।
जनविश्वासअनुसार लटिनाथ श्री शैल्य मालिकार्जुनको सुपुन्छ हुनुहुन्छ। युद्धका क्रममा लटिनाथले तल खसेको पहिरोलाई माथि फर्काइदिएको किम्बदन्ती छ। जयपुर मन्दिर वरपरको क्षेत्रलाई देवीदेवताको छलफल गर्ने थलो वा देवभूमि मानिन्छ। मालिकार्जुन र छिपुलाको युद्ध हुने क्रममा जयपुरमा सबैभन्दा बढी शक्ति प्राप्त भएको र बाँघ जस्तै बलशाली देखिएकोले जयपुरलाई बगबिरे लटिनाथ पनि भन्ने गरिन्छ।
यो ठाउँबाट विजयउद्घोष भएकोले जयपुरलाई विजयपुर पनि भन्ने गरिन्छ। लटिनाथ मन्दिरमा मनले मागिएको मनोकामना पूरा हुने, सत्यको विजय हुन्छ भन्ने आस्था छ। हरेक वर्ष कात्तिक शुक्ल नवमीका दिन जयपुरमा दार्चुलाकै प्रसिद्ध जात्रा लाग्ने गरेको छ । रिठाबाट उठाइएको भाराण चौपाता, गोगनचोर, दमसैना हुँदै लटिनाथको दरवार जयपुरमा पुर्याएर भित्र्याउने गरिन्छ।
शक्तिशाली देवता लटिनाथको जात्रा निकै भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। जयपुरमा साउँन, नवरात्रा र अरु तिथिहरुमा पनि विशेष पुजाआजा हुने गरेको छ । जयपुरको महिमा र जात्रा विशेष जानकारी सहितको पुरा भिडियो हेर्न तलको लिंकमा जानुहोस
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




