दार्चुला। जिल्लाभित्र रहेका विभिन्न समस्या, निर्वाचन र पछिल्लो समय नेपाल सरकारले गरेका निर्णय तथा माथिल्ला निकायले पठाएका निर्देशनबारे छलफल गर्दै कार्यालय प्रमुखहरूको बैठक सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको सभाहलमा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले कार्यालय र पालिकाहरूसंग सम्बन्धित सरकारका पछिल्ला सार्वजनिक सरोकारका निर्णय र निर्देशनबारे जानकारी गराउनुभएको थियो। प्रस्तुतिका क्रममा सिडियो पौडेलले कार्यालयको सेवा सरलीकरण र सुशासनलाई कार्यालय प्रमुखहरूले ध्यानमा राख्नुपर्ने सुझाव दिनुभयो। उहाँले पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई जनप्रतिनिधि, नेता वा राजनीतिक प्रभावमा नपरी बोल्ड भएर काम तथा सेवाप्रवाह गर्न सुझाव दिनुभयो।

सम्पूर्ण कर्मचारीहरूलाई निर्वाचन सम्पन्न गर्न रचनात्मक भूमिका निर्वाह गर्नुका साथै आचारसंहिताको पूर्ण पालना गर्न निर्देशित गरिएको छ। बैठकमा जिल्ला निर्वाचन अधिकृत प्रदिपसिंह धामीले दार्चुलामा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कुल ११२ मतदान स्थल र १४३ मतदान केन्द्र रहने जानकारी दिनुभयो। मतदाता संख्या १०५० भन्दा बढी हुँदा केन्द्र थप्ने प्रावधान अनुसार अहिले दुई वटा निर्वाचन केन्द्र थप भएको उहाँले बताउनुभयो। दार्चुलामा झण्डै चार हजार अस्थायी मतदाता हुने अनुमान गरि विवरण पठाइएको बताइएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका प्रमुख हरिदत्त पाण्डेले जिल्लास्थित कार्यालयको प्रदेश र संघीय बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी गराउदै लेखा सम्बन्धि सुधारका विषयमा सुझाव दिनुभयो।

जिल्लाको विभिन्न पालिका र क्षेत्रका समस्या तथा समाधानका विषयमा समेत छलफल गरिएको छ। बैठकमा महाकाली करिडोर अन्तरगत मोहती क्षेत्र, गोकुलेश्वर-नौगाड सडक लगायत विभिन्न सडकक्षेत्रमा निर्माण सामग्री थुपारेका कारण दुर्घटनाको जोखिम बढेकाले उक्त गिट्टी, बालुवा हटाउनुपर्ने सुझावहरू आएका छन्। गोकुलेश्वर, मार्मा, नौगाड क्षेत्रमा चल्ने अटो अनिवार्य दर्ता, सूचीकरण गराउने र भाडा र यातायात व्यवस्थापनका बारेमा छिट्टै समन्वय बैठक आयोजना गर्ने सहमति भएको छ। दुहुँको थल-सिलङचौर झोलुङ्गे पुलको ठेकेदारलाई सम्पर्कमा ल्याउनुपर्ने विषय समेत उठेको छ।

बैठकमा पछिल्लो समय आएका कार्यालय प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको स्वागत गरिएको छ। कर्मचारी मिलन केन्द्र दार्चुलाका अध्यक्ष रामचन्द्र ओझा र संरक्षक प्रजिअ अनिल पौडेलले महाकाली करिडोर प्रमुख ईश्वर कार्की, मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मेन्द्र जोशी, लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज जोशी र दुहुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश जोशीलाई स्वागत गरेको कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष केशवराज जोशीले बताउनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?