दार्चुला। दार्चुला जिल्लाको लेकम गाउँपालिका–५, मैखोली गडानी निवासी, धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्व स्वर्गीय प्रशिद्ध ज्योतिष धनदेव जोशीको निधनपश्चात् वैदिक परम्पराअनुसार गरिने चौथो दिनको कर्म सम्पन्न भएको छ।
वि.सं. १९९० फागुन ६ गते जन्मनुभएका जोशीको २०८३ असार ३२ गते बिहान ३ बजे ९४ वर्षको उमेरमा निधन भएको थियो। उहाँको निधनले परिवार, आफन्तजन, शुभेच्छुक तथा सम्पूर्ण लेकम क्षेत्र शोकमा डुबेको छ।
स्वर्गीय जोशी २०१७ देखि २०४४ सालसम्म तत्कालीन वडा नं. ७ र ८ का जनप्रतिनिधिका रूपमा कार्यरत रहनुभएको थियो। उहाँ ऐडिबाग विद्यालयका संस्थापक हुनुका साथै २०३६ देखि २०४६ सालसम्म उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा रहेर शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो।
उहाँ नेपाल पञ्चाङ्ग समितिका सल्लाहकार, पञ्चाङ्ग गणितकार तथा लेकम क्षेत्रका ख्यातिप्राप्त ज्योतिषका रूपमा परिचित हुनुहुन्थ्यो। साथै लटिनाथ, ऐडिबाग र डाँडाबाग मन्दिरका भरणेका रूपमा धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। मैखोली गाउँका अग्रज इतिहासविद्, समाजसेवी तथा धर्मशास्त्रका ज्ञाताका रूपमा समेत उहाँले समाजमा विशिष्ट पहिचान बनाउनुभएको थियो।
चौथो दिनको कर्ममा आफन्तजन, इष्टमित्र, गाउँले तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। उपस्थित सबैले स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले समाज, शिक्षा, धर्म, संस्कृति तथा ज्योतिष क्षेत्रको विकासमा पुर्याउनुभएको योगदानको स्मरण गरेका थिए।
श्रद्धाञ्जली व्यक्त गर्दै स्थानीयवासीहरूले स्वर्गीय जोशीलाई ज्योतिषशास्त्रका ज्ञाता, विद्वान् व्यक्तित्व, समाजका अग्रज, धर्म–संस्कृतिका संरक्षक तथा आस्थाका धरोहरका रूपमा स्मरण गरेका छन्। एक शताब्दी नजिकको जीवनकालमा उहाँले आफ्नो ज्ञान, विवेक र अनुभवका माध्यमबाट हिन्दु धर्म, संस्कार तथा परम्पराको संरक्षणमा अतुलनीय योगदान पुर्याउनुभएको उनीहरूको भनाइ छ। दैनिक धार्मिक कर्मकाण्ड तथा संस्कारसम्बन्धी जटिल विषयहरूलाई सरल र सहज ढंगले समाधान गर्ने क्षमताका कारण उहाँ समाजका मार्गदर्शक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।
स्थानीयवासीहरूले उहाँलाई “ऋषि बाजे”, “युगपुरुष” तथा “समाजका अभिभावक” का रूपमा सम्मानपूर्वक स्मरण गर्दै उहाँको निधनले लेकम क्षेत्रले ज्ञान, अनुभव र संस्कारको एक अमूल्य धरोहर गुमाएको बताएका छन्।
यस अवसरमा शोकसन्तप्त परिवारले दुःखको घडीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, समवेदना तथा श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको बैकुण्ठवास तथा चिरशान्तिको कामना गरिएको छ। साथै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी परमात्मासँग प्रार्थना गरिएको स्वर्गीय जोशीका नाती लोकमणी जोशीले बताउनुभयो।





प्रतिक्रिया