दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–५ स्थित लटिनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज बिष्टले विद्यालयमा दशकौँदेखि सेवा गर्दै आएका कर्मचारी तथा शिशु सहजकर्ताहरूलाई सम्मानजनक उपदान, राहत सुविधा तथा सामाजिक सुरक्षाको व्यवस्था गर्न तीनै तहका सरकारसमक्ष भावुक अपिल गर्नुभएको छ ।
प्रधानाध्यापक बिष्टले सम्माननीय प्रधानमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै सार्वजनिक अनुरोधपत्रमार्फत सर्वोच्च अदालतको परमादेशअनुसार ६० वर्ष उमेर पूरा गरेका विद्यालय कर्मचारी तथा शिशु सहजकर्ताहरूलाई अनिवार्य अवकाश दिनुपर्ने अवस्थाले आफूलाई गहिरो पीडाबोध भएको बताउनुभएको छ ।
उहाँले विद्यालयका कर्मचारी तथा शिशु सहजकर्ताहरूले वर्षौँसम्म न्यून पारिश्रमिकमा, कतिपय अवस्थामा बिना पारिश्रमिकसमेत विद्यालयको सुरक्षा, सरसफाइ, प्रशासनिक सहयोग, बालबालिकाको हेरचाह तथा विद्यालय सम्पत्तिको संरक्षणमा निरन्तर योगदान दिएको उल्लेख गर्नुभएको छ। विद्यालयको विकास, शैक्षिक उपलब्धि र संस्थागत सफलतामा उनीहरूको महत्वपूर्ण भूमिका रहेको भए पनि अवकाशको समयमा कुनै उपदान वा सामाजिक सुरक्षाविना घर फर्कनुपर्ने अवस्था अन्यायपूर्ण भएको प्रधानाध्यापक विष्टको भनाई छ।
“जीवनको सबैभन्दा उर्जाशील समय विद्यालयको सेवामा बिताएका व्यक्तिहरूलाई अन्तिम चरणमा रित्तो हात घर फर्काउन बाध्य हुनु अत्यन्त पीडादायी विषय हो,” अनुरोधपत्रमा उल्लेख छ।
प्रधानाध्यापक बिष्टले विद्यालय कर्मचारी तथा शिशु सहजकर्ताहरूलाई केवल कानुनी व्यवस्थाको आधारमा अवकाश दिने विषय नभई सामाजिक न्याय, मानवीय संवेदना र राज्यको नैतिक उत्तरदायित्वसँग जोडिएको विषयका रूपमा हेर्न आग्रह गर्नुभएको छ ।
उहाँले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई विद्यालयमा ५, १०, २०, ३० वा ३५ वर्षभन्दा बढी समयदेखि सेवा गरेका कर्मचारी तथा शिशु सहजकर्ताहरूका लागि विशेष राहत प्याकेज, उपदान, एकमुष्ट आर्थिक सहायता, सामाजिक सुरक्षा सुविधा वा सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने कार्यक्रम तत्काल ल्याउन माग गर्नुभएको छ ।
प्रधानाध्यापक बिष्टले दशकौँसम्म विद्यालय र समाजको सेवामा समर्पित व्यक्तिहरूको योगदानलाई केवल एउटा अवकाशपत्रमा सीमित नगर्न आग्रह गर्दै उनीहरूको पसिनाको मूल्य, योगदानको सम्मान र भविष्यको सुरक्षाको प्रत्याभूति गर्न सरकारलाई अनुरोध गर्नुभएको छ ।
“जीवनभर विद्यालयलाई समय दिएर अन्त्यमा रित्तो हात घर फर्किनुपर्ने अवस्था नआओस्,” उहाँले अपिल गर्नुभएको छ ।
प्रधानाध्यापक बिष्टको यो अनुरोधपत्र सामाजिक सञ्जालमा समेत चर्चा हुन थालेको छ भने शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत कर्मचारी तथा शिशु सहजकर्ताहरूको भविष्य सुरक्षाको विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ।




