ओली भेट्न दार्चुलाका सबै प्रतिनिधिसहित ठगुन्ना नेतृत्वको टोली गुण्डुमा, पदाधिकारी मागदाबी

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नासहित दार्चुला जिल्लाका नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूले गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

पार्टीको ११औं महाधिवेशन नजिकिँदै गर्दा दार्चुलाका पूर्वसांसद तथा पूर्वमन्त्री समेत रहनुभएका ठगुन्नासहित केन्द्रीय कमिटी सदस्य हरदेव जोशी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, पूर्वअध्यक्ष रामदत्त जोशी लगायत प्रदेश र जिल्ला कमिटीमा रहेका नेता कार्यकर्ताहरु गुण्डु पुगेका हुन् ।

अध्यक्ष ओलीसँगको भेटमा दार्चुलामा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको विषयमा रिपोर्टिङ गर्नुका साथै दार्चुलाका प्रमुख माग मुद्दाहरुको बारेमा ध्यानाकर्षण गराइएको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो। खासगरी पदाधिकारीसहित केन्द्रीय कमिटीमा दार्चुलाबाट तीन/चार जना नेताहरुलाई जिम्मेवारी प्रदान गरिनुपर्ने, दार्चुलामा मात्र बसोवास रहेका व्याँसी सौका समुदायबाट भूगोल मिलाउने क्रममा महाधिवेशन प्रतिनिधिमा प्रतिनिधित्व नभएकाले प्रतिनिधि मनोनीत गर्नुपर्ने माग गरिएको छ।दार्चुलाबाट केन्द्रीय सदस्यमा वर्तमान केन्द्रीय सदस्य हरदेव जोशी, जिल्ला कमिटी पूर्वअध्यक्ष रामदत्त जोशीको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरिएको छ ।

यस्तै ठगुन्नाले आगामी महाधिवेशनबाट पार्टी पदाधिकारीका लागि आफ्नो दावेदारी पनि प्रस्तुत गर्नुभयो। उहाँले पार्टीको केन्द्रीय सचिवमा आफ्नो स्वभाविक दाबी रहेको ओलीलाई जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, ‘महाविधेशन सन्दर्भमा एमाले दार्चुला एकढिक्का छ । लामो राजनीतिक अनुभव, योगदान र त्यागका आधारमा म पदाधिकारीको स्वभाविक दावेदार हुँ। दार्चुलाले व्यक्तिगत स्वार्थका लागि केही पनि माग्ने गरेको छैन। नेकपा माले हुँदै एमालेमा निरन्तर विभिन्न भूमिकामा रहि भूगोलमा सफलतापूर्वक काम गरेको अनुभव म सँग छ ।’

ओलीलाई भेट्न गएका सबै निर्वाचित प्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानीको संवेदनशीलतालाई समेत ध्यानाकर्षण गराउँदै दार्चुलाले पदाधिकारीसहित केन्द्रीय कमिटीमा सन्देशमूलक सहभागिता सुनिश्चित गरिनुपर्ने माग गरेका छन् ।

विद्यार्थी जीवनदेखि नेकपा माले हुँदै एमालेको राजनीतिमा होमिएका ठगुन्ना २०५० सालदेखि पटक पटक जिल्लाको पार्टी नेतृत्व सम्हाल्दै अहिले पोलिटब्युरो सदस्यको जिम्मेवारीमा हुनुहुन्छ। दार्चुला, कैलाली जिल्ला इन्चार्ज, सुदूरपश्चिम प्रदेश सह-इन्चार्जको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका ठगुन्ना २०७१ सालदेखि केन्द्रीय राजनीतिमा सक्रिय हुनुहुन्छ ।

२०५४ सालमा दार्चुला जिल्ला विकास समिति सभापति, २०७० सालमा दोस्रो संविधानसभा सदस्य, २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको छ।

विकासवादी नेताको छवि बनाएका ठगुन्नाले नेता कार्यकर्ताको भावना, राजनीतिक अनुभव र कार्यसम्पादनका आधारमा पार्टीको केन्द्रीय सचिवमा आफ्नो दावेदारी रहेको बताउनुभयो। साथै दार्चुलाबाट केन्द्रीय कमिटीमा सम्मानजनक प्रतिनिधित्व गराउनुपर्ने उहाँको माग छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?