दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा महाशिवरात्रीको अवसरमा ऐतिहासिक गोकुले मेला सुरु भएको छ । झण्डै नौँ दशक लामो सांस्कृतिक महत्त बोकेको गोकुलेश्वर शिवरात्री मेला व्यापारीक दृष्टिकोणले पनि प्रशिद्ध छ । शिवरात्रीका अवसरमा चमेलिया नदी किनारमा रहेको जगतपुरी धामका साथै महाकाली र चमेलिया नदी किनारका विभिन्न स्थानमा रहेका तातोपानी क्षेत्रमा स्थान गर्नेको भिड लागेको छ ।
शिवरात्रीदेखी सुरु हुने एक हप्ता लामो गोकुलेश्वर मेलामा जडिबुडी, निंगालोबाट बनेका मट्टा, डोका, सुप्पा, छाप्रा, डडेल्धुराको पर्शुराम लगायत विभिन्न ठाउँमा बनेका पारा, बिण्णा, व्यासका दन चुट्का, भारत मदुरासको मिठाइ, विभिन्न धातुका भाडाकुडा, स्थानीयदेखि बजारीया फलफुलका साथै दैनिक जनजीवनका विभिन्न सामाग्रीहरु पाइने गरेका छन् । स्थानीय व्यवसायी महेश जोशीका अनुसार जडिबुडी, स्थानीय उत्पादनका सामग्री, लुगाकपडा, मिष्ठान्न परिवारका साथै घरका लागि चाहिने स्थानीयस्तरमा उत्पादित विभिन्न बस्तुहरुको खरिदबिक्री हुने गरेको छ । निगाँलोबाट निर्मित डोको, मट्टा, सुप्पाको कारोबार बढी हुने गरेको छ । मेलामा विभिन्न धातुका भाडाकुडाहरुका साथै फलामबाट बनेका हँसिया, बन्चरो, कोदालीहरु समेत विक्रिवितरण हुने गरेका छन् । व्याँसी शौका समुदाय समेत गोकुलेश्वर मेलामा उनबाट बनेका लुगाकपडाको व्यापार गर्न पुग्ने गरेका छन । अपिहिमाल क्षेत्रका स्थानीय व्यापारीहरुले मेलामा विभिन्न प्रकारका जडिबुटीहरु ल्याएर विक्री गर्ने गरेका छन्।
दार्चुलासहित छिमेकी जिल्ला बैतडी, बझाङ, डडेल्धुरा र भारतका केहि ठाँउबाट समेत गरि हजारौँले गोकुलेश्वर शिवरात्री मेलाको अवलोकन गर्ने गरेका छन् । हरेक वर्ष शिवरात्रीको अवसरमा लाग्ने धार्मिक, पर्यटकीय र व्यापारिक महत्वले प्रशिद्ध गोकुलेश्वर मेला यस वर्ष फागुन ०३ गते (आज) बाट शुरू भएको हो। गोकुलेश्वर महाशिवरात्री मेलाको सर्वप्रथम विक्रम संवत १९९७ सालमा गोकुलेश्वरका तत्कालीन समाजसेवी स्वर्गिय लक्ष्मण विष्टले शुरूवात गरेको बुढापाखाहरु बताउछन् । एक शताब्दी पहिले गोकुलेश्वरमा बजार थिएन । त्यहाँ रूखहरू थिए, यो ठाउँ जङ्गल जस्तो थियो, उतिबेला त्यहाँ महिलाहरू घाँसपात गर्न जान्थे, शिवरात्रीमा मेला लाग्न थालेपछि बिस्तारै पसलहरू थपिदै गएको बताइन्छ । शिवरात्री मेला लगाएको शुरूको वर्ष जम्मा ५०÷६० जना मात्रै मेला हेर्न आएका थिए । बिस्तारै मानिसहरूको भिड बढ्न थाल्यो, पछि अहिलेको बजार भएको ठाउँमा मेला स¥यो र मेला हेर्न आउनेहरूको संख्या बढ्दै गएको बताइन्छ। अहिले त ठूलो बजार बनिसकेको छ गोकुलेश्वर ।
शुरूवाती वर्षहरूमा बयरको किनबेच गरि स्थापना गरिएको यस मेलामा विगत ३०/४० वर्षदेखि लाखौँको कारोबार भइरहेको छ । यस मेलाको अस्तित्व रक्षाका लागि अहिलेको पुस्तालाई यसको इतिहासबारे सचेत गराउनु आवश्यक रहेको जानकारहरु बताउछन् । ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला गोकुलेश्वरसहित अन्य ठाउँका व्यक्तिहरूका लागि समेत धार्मिक रूपमा आस्थाको केन्द्र बनेको छ भने व्यापारिक तवरले पनि यस क्षेत्रमा अगाडि रहेको छ । पुर्खाले शुरूवात गरेको यस ऐतिहासिक पर्वको संरक्षण र अस्तित्व रक्षाका लागि स्थानीय सरकारका साथै सबै समुदायले चासो दिनुपर्ने आवश्यकता रहेको छ।
यसैबिच शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । शिवरात्रीको अवसरमा दार्चुलाको गोकुलेश्वरस्थित चमेलिया किनार, दुहुँ, व्याँस, मार्मा र महाकालीस्थित महाकाली र चमेलिया नदी किनारमा रहेका तातोपानी क्षेत्र लगायत स्थानमा स्नान गर्ने भक्तजनको भिड लागेको छ । नेपालकै प्रशिद्ध पशुपति परिसर एवम् वाग्मती किनारामा भक्तजनको भिड छ । शिवरात्रिको दिन भक्तजनले शुद्ध भइ शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ त्यही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ । शिवरात्रिको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।




