धेरै मानिसहरू राति गहिरो निद्रामा हुँदा अचानक बिउँझिने समस्या हुन्छ । मध्यरातमा आँखा खुल्ने, फेरि सुत्न प्रयास गर्दा पनि निद्रा नआउने र दिमागमा कुरा खेलिरहनुलाई धेरैले तनावको परिणाम ठान्ने गर्छन् ।
केहीले यो गम्भीर स्वास्थ्य समस्याको संकेत पनि मान्छन् । तर, विज्ञहरूका अनुसार, राति निद्रा खुल्नुका पछाडि शारीरिक, मानसिक र जीवनशैलीसँग सम्बन्धित कारण हुन सक्छन् ।
स्वस्थ जीवनका लागि पर्याप्त र गुणस्तरीय निद्रा अत्यन्त आवश्यक मानिन्छ । निद्राले शरीरलाई आराम मात्र दिँदैन, मस्तिष्कको कार्यक्षमता, हर्मोन सन्तुलन र समग्र स्वास्थ्यमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।
विशेषज्ञहरूका अनुसार, मानिसको निद्रा सधैँ एउटै अवस्थामा रहँदैन । निद्रा अनेक चरण हुँदै अघि बढ्छ– हल्का निद्रा, गहिरो निद्रा, सतर्क अवस्था र आरईएम (र्यापिड आइ मुभमेन्ट) निद्रा । यी चरणहरू करिब हरेक ९० मिनेटमा परिवर्तन भइरहन्छन् ।
nabil
रातको पहिलो भागमा शरीर गहिरो निद्रामा बढिरहने गर्छ भने बिहान नजिकिँदै जाँदा निद्रा हल्का वा पातलो हुँदै जान्छ । यहीकारण राति २ देखि ३ बजेको बीचमा मानिस साना आवाज, हलचल वा आफ्नै विचारका कारण पनि सजिलै बिउँझिन सक्छ ।
राति २–३ बजे नै किन खुल्छ निद्रा ?
मनोचिकित्सक डा. ऋषभ वर्माका अनुसार, राति २ देखि ३ बजेको बीचमा निद्रा खुल्नुको एउटा मुख्यकारण शरीरको प्राकृतिक जैविक घडी अर्थात् (सर्कैडियन रिदम) हो ।
यो समयमा शरीरले विस्तारै बिहानका लागि तयारी गर्न थाल्छ । शरीरमा पाइने (कोर्टिसोल) नामक हर्मोन, जसले मानिसलाई सक्रिय बनाउन सहयोग गर्छ, बिहान नजिकिँदै जाँदा विस्तारै बढ्न थाल्छ ।
तर लगातार तनाव, चिन्ता, मानसिक दबाब वा निद्रामा अवरोध भइरहेको अवस्थामा कोर्टिसोलको मात्रा पहिले नै बढी हुन सक्छ । यस्तो अवस्थामा शरीरको प्राकृतिक प्रक्रिया नै निद्रा बिगार्ने कारण बन्न सक्छ ।
मनोचिकित्सक वर्माका अनुसार, मानिसको निद्रा शरीरको आन्तरिक घडीसँग जोडिएको हुन्छ । “यदि, व्यक्ति सामान्यतया राति १० वा ११ बजे सुत्छ भने बिहान ३ बजेसम्म उसले गहिरो निद्राको ठूलो हिस्सा पूरा गरिसकेको हुन्छ । त्यसपछि शरीर विस्तारै सक्रिय हुन थाल्छ र निद्रा हल्का हुन्छ,” उनले भने ।
उनका अनुसार, राति २ देखि ३ बजेको समयमा शरीरको तापक्रम न्यून अवस्थामा हुन्छ । आन्तरिक प्रणालीहरू विस्तारै पुनः सक्रिय हुन थाल्छन् । यस्तो अवस्थामा सानो आवाज, छेउमा भएको हलचल वा मनमा आएका विचारले समेत निद्रा खुल्न सक्छ ।
निद्रा खुल्नु सामान्य, तर फेरि सुत्न नसक्नु समस्या
अध्ययनहरूका अनुसार, स्वस्थ वयस्कहरू पनि रातभरमा २ देखि ४ पटकसम्म छोटो समयका लागि बिउँझिन सक्छन् । तर, धेरैजसो अवस्थामा केही सेकेन्डमै फेरि निद्रा लाग्ने भएकाले मानिसलाई त्यसको सम्झना पनि हुँदैन ।
समस्या त्यतिबेला हुन्छ, जब मानिस पूर्ण रूपमा बिउँझिन्छ, दिमाग सक्रिय हुन्छ र फेरि निदाउन कठिन हुन्छ ।
कामको तनाव, भविष्यको चिन्ता, निद्रा नआउने डर वा लगातार सोचिरहने बानीले पुनः निद्रा आउन रोक्न सक्छ ।
मस्तिष्कको एउटा भाग ‘सुप्राचियास्मैटिक न्यूक्लियस’ले शरीरको दिन–रातको चक्र नियन्त्रण गर्छ । यही प्रणालीले निद्रा, शरीरको तापक्रम र हर्माेनको गतिविधि सन्तुलनमा राख्छ ।
रातको सुरुआती समयमा गहिरो निद्रा बढी हुने गर्छ । करिब राति १० बजेदेखि २ बजेसम्मको समयमा मस्तिष्क निकै शान्त अवस्थामा हुन्छ ।
तर, राति २ बजेदेखि बिहान ६ बजेसम्म निद्रा हल्का हुँदै जान्छ । आरईएम निद्रा बढ्छ । आरईएम निद्रामा मस्तिष्कको गतिविधि बढी हुने भएकाले सपना आउने र सजिलै बिउँझिने सम्भावना पनि बढ्छ ।
राम्रो निद्राका लागि विशेषज्ञका चार सुझाव
१. सुत्नुअघि स्क्रिनबाट टाढा रहनुहोस्
सुत्नुभन्दा कम्तीमा एक घण्टा अघि मोबाइल, कम्प्युटर वा ट्याब्लेट प्रयोग कम गर्नु उपयुक्त हुन्छ । यसको सट्टा किताब पढ्ने वा शान्त संगीत सुन्ने बानीले निद्रामा सहयोग गर्छ ।
२. खानपानमा ध्यान दिनुहोस्
सुत्नुअघि मदिरा सेवन, धेरै भारी खाना वा अत्यधिक गुलियो खानेकुराबाट बच्न विशेषज्ञहरू सुझाव दिन्छस् । आवश्यक परे हल्का र पौष्टिक खानेकुरा लिन सकिन्छ ।
३. निद्रा खुलेपछि समय नहेर्नुहोस्
राति निद्रा खुलेपछि मोबाइल वा घडी हेर्ने बानीले तनाव बढाउन सक्छ । “अब कति घण्टा मात्रै सुत्न पाइन्छ ?” भन्ने सोचले झन् निद्रा टाढा जान सक्छ ।
४. धेरै बेर निद्रा नआए ओछ्यानबाट उठ्नुहोस्
यदि, लामो समयसम्म निद्रा आएन भने हल्का प्रकाश भएको स्थानमा बसेर शान्त गतिविधि गर्नु राम्रो मानिन्छ । आँखा भारी भएपछि मात्र फेरि ओछ्यानमा जानु उपयुक्त हुन्छ ।





प्रतिक्रिया