प्रेम जोशी, ‘सन्देश’, दार्चुला । नेपालको राजनीतिक वृत्तमा “वाम एकता” को बहस कुनै नयाँ विषय होइन। यो बहस कहिले चुनावी मौसमसँगै चर्किन्छ, कहिले राजनीतिक अस्थिरताको पृष्ठभूमिमा पुनः सतहमा आउँछ, त कहिले जनतामा बढ्दो निराशा र वितृष्णाबीच आशाको किरणका रूपमा प्रस्तुत गरिन्छ। अझ रोचक कुरा के छ भने, यो बहस कहिलेकाहीँ बेमौसमी रूपमा पनि उठ्ने गर्दछ। यसले एउटा गहिरो यथार्थलाई उजागर गर्छ, नेपालको कम्युनिष्ट आन्दोलन अझै पनि विभाजित जनमत, नेतृत्व संघर्ष, वैचारिक अस्पष्टता र संगठनात्मक असन्तुलनबीच आफ्नो भविष्य खोजिरहेको छ।

वास्तवमा वाम एकता केवल दलहरूको अंकगणितीय जोडघटाउको विषय बन्नु हुंदैन। यो राष्ट्रको राजनीतिक दिशा, विकासको मार्ग र जनआकांक्षासँग प्रत्यक्ष रूपमा जोडिएको गम्भीर प्रश्नको जवाफ बन्न सक्नु पर्दछ । आज नेपालमा एउटै वैचारिक धरातलमा उभिएका अनेकौं दल, समूह र गुटहरू अस्तित्वमा रहेका छन्। फलतः जनमत विभाजित भएको छ र त्यो विभाजनको फाइदा अन्य वैकल्पिक राजनीतिक धारहरूले उठाइरहेका छन्। यही कारणले पनि वाम एकताको बहस केवल स्वाभाविक मात्र होइन, राष्ट्रिय आवश्यकता समेत बनेको यथार्थ छ।

तर यहाँ एउटा अत्यन्त महत्वपूर्ण प्रश्न उठ्छ, के केवल सत्ता प्राप्ति, नेतृत्व सुरक्षित गर्ने आकांक्षा वा अल्पकालीन चुनावी लाभका लागि गरिएको एकताले दीर्घकालीन परिणाम दिन सक्छ ? नेपालको राजनीतिक इतिहासले यसको उत्तर धेरैपटक दिइसकेको छ#“सक्दैन”। विगतमा पटक–पटक वाम एकता भए, पार्टीका नाम फेरिए, झण्डा फेरिए, चुनाव चिन्ह फेरिए, तर धेरैजसो एकता अन्ततः टुटफुट र अविश्वासमा समाप्त भए। यसको मुख्य कारण वैचारिक स्पष्टताको अभाव, व्यक्तिकेन्द्रित राजनीति, नेतृत्व मोह, शक्ति बाँडफाँडको मानसिकता र आत्मालोचनाको संस्कार कमजोर हुनु नै हो।

कुनै पनि राजनीतिक आन्दोलन तब मात्र बलियो र दिगो बन्छ जब त्यसको आधार विचार, सिद्धान्त, साझा उद्देश्य र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणमा टेकेको हुन्छ। आलोचना र आत्मालोचनाको संस्कारबिना कुनै पनि आन्दोलन परिपक्व बन्न सक्दैन। विश्व कम्युनिष्ट आन्दोलन आज रक्षात्मक अवस्थामा पुगेको यथार्थलाई स्वीकार गर्दै नेपालका वाम शक्तिहरूले विगतका कमजोरीको गम्भीर समीक्षा गर्नु जरुरी छ। इतिहासबाट शिक्षा लिएर मात्र भविष्यको बाटो कोर्न सकिन्छ। विगतलाई ढाकछोप गरेर होइन, स्वीकार गरेर र सुधार गरेर मात्र नयाँ विश्वास निर्माण गर्न सकिन्छ।

यदि वाम एकताको केन्द्रमा केवल “को अध्यक्ष हुने ?”, “दलको नाम के रहने ?”, “चुनाव चिन्ह कसको रहने ?” वा “शक्ति बाँडफाँड कसरी गर्ने ?” जस्ता विषयहरू मात्र रहन्छन् भने त्यस्तो एकताले जनतामा उत्साह होइन, झन् निराशा पैदा गर्छ। जनताले अब अहिले नाराभन्दा परिणाम खोजिरहेका छन्। उनीहरू राजनीतिक स्थिरता, सुशासन, रोजगारी, विकास, सामाजिक न्याय र राष्ट्रिय समृद्धिको अपेक्षामा छन्। त्यसैले व्यक्ति र पदलाई गौण बनाएर राष्ट्र र जनतालाई केन्द्रमा राखिएको एकता मात्र दिगो, प्रभावकारी र जनस्वीकार्य हुन सक्छ।

आजको अर्को महत्वपूर्ण आवश्यकता नेतृत्व हस्तान्तरणको संस्कार हो। पहिलो पुस्ताका अधिकांश कम्युनिष्ट नेताहरू लामो संघर्षका अनुभवी पात्र हुनुहुन्छ। उहांहरूले लोकतन्त्र, गणतन्त्र र परिवर्तनका लागि महत्वपूर्ण योगदान दिनुभएको छ। तर समयको माग अनुसार अब उहाँहरूले अभिभावकीय भूमिका निर्वाह गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने साहस पनि देखाउनुपर्छ। इतिहासमा सफल आन्दोलनहरू तीं हुन् जसले पुस्तान्तरणलाई सहज रूपमा स्वीकार गरेका छन्।

दोस्रो पुस्तामा राजनीतिक रूपमा परिपक्व, व्यवहारिक, अध्ययनशील र समयानुकूल सोच भएका नेताहरू देखिएका छन्। उनीहरू प्रविधिमैत्री छन्, विश्व राजनीति बुझ्ने क्षमता राख्छन् र जनताका नयाँ अपेक्षासँग नजिक छन्। जनताले पनि अब केवल भाषण होइन, परिणाममुखी नेतृत्व खोजिरहेका छन्। यदि नयाँ पुस्तालाई विश्वासका साथ अगाडि बढाइयो भने वाम आन्दोलनले पुनः नयाँ ऊर्जा, नयाँ दिशा र नयाँ जनसमर्थन प्राप्त गर्न सक्छ।

विश्व राजनीति हेर्दा धेरै मुलुकहरूले बहुदलीय लोकतान्त्रिक प्रणालीलाई आत्मसात गर्दै तीव्र विकास गरेका छन्। केही देशहरू दुईदलीय व्यवस्थामार्फत राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा अघि बढेका उदाहरण पनि छन्। नेपालले बहुदलीय लोकतान्त्रिक प्रणाली रोजेको छ र यही व्यवस्थाभित्र रहेर सुधार, सुदृढीकरण र स्थायित्व खोज्नु आजको आवश्यकता हो। लोकतन्त्रभित्रको अनुशासन, विचारभित्रको स्पष्टता र नेतृत्वभित्रको त्यागले मात्र कुनै पनि आन्दोलन सफल हुन सक्छ।

यदि नेपालका वाम शक्तिहरू लोकतान्त्रिक संस्कार, आन्तरिक अनुशासन, साझा राष्ट्रिय दृष्टिकोण र “वाम एक ठाम” को भावनासहित अघि बढ्न सके भने त्यसले देशलाई राजनीतिक स्थिरता, सुशासन र विकासको दिशामा डोर्‍याउन सक्छ। तर यदि एकता केवल अस्थायी राजनीतिक समीकरण, चुनावी अंकगणित वा व्यक्तिगत शक्ति संघर्षको माध्यम मात्र बन्यो भने त्यो “बेमौसमी बाजा” बाहेक केही हुनेछैन। अझ त्यसले जनमतलाई थप खण्डित बनाउने खतरा रहन्छ।

त्यसैले अबको एकता माथि नेतृत्व तहबाट गरिएको औपचारिक सम्झौता मात्र होइन, तल कार्यकर्ता पंक्ति देखि माथिसम्मको भावनात्मक, वैचारिक र संगठनात्मक एकता हुनुपर्छ। नेताहरूबीचको हस्ताक्षरले मात्र आन्दोलन बलियो हुँदैन; कार्यकर्ताबीचको विश्वास, अपनत्व र साझा लक्ष्यले मात्र आन्दोलनलाई जीवन्त बनाउँछ। गाउँदेखि केन्द्रसम्मका कार्यकर्ताले “यो हाम्रो साझा आन्दोलन हो” भन्ने अनुभूति गर्न सके मात्र एकताको आधार बलियो हुन्छ।

आज पनि नेपालको ठूलो जनसमूह विभाजित वाम शक्तिभन्दा एकताबद्ध, जिम्मेवार र राष्ट्रप्रति प्रतिबद्ध राजनीतिक शक्तिको पक्षमा देखिन्छ। त्यसैले कम्युनिष्ट एकताको आवश्यकता समाप्त भएको छैन; बरु झन् गम्भीर रूपमा महसुस भइरहेको छ। तर त्यो एकता दिगो, उद्देश्यपूर्ण, जनमुखी र भविष्यदर्शी हुनुपर्छ। गम्भीर बहस, आत्मसमीक्षा, वैचारिक स्पष्टता, लोकतान्त्रिक संस्कार र नयाँ पुस्ताप्रतिको विश्वाससहित अघि बढ्न सके मात्र वाम आन्दोलन पुनः जनआकांक्षाको केन्द्र बन्न सक्छ।

समयले फेरि एकपटक वाम नेतृत्वलाई इतिहासको मोडमा उभ्याएको छ। अब निर्णय मूल नेतृत्वकर्ताहरूको हातमा छ, उहाँहरू राष्ट्र निर्माणको आधार बन्ने ऐतिहासिक एकताको नेतृत्व गर्नुहुन्छ कि फेरि अर्को असफल प्रयोगको कथा दोहोर्‍याउनु हुन्छ? इतिहासले उहांहरूलाई फेरि अवसर दिएको छ, तर इतिहासले क्षमा भने बारम्बार गर्ने छैन।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?