दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सलेती मेरो जन्मभूमि नक्सामा हेर्दा सायद यो एउटा सानो पहाडी बिन्दु मात्र देखिएला, तर मेरो जीवनको नक्सामा सलेती मेरो आत्माको केन्द्र हो। यो केवल म जन्मिएको ठाउँ होइन, म जसरी सोच्न सिकेँ, जसरी माया गर्न सिकेँ, र जसरी जीवन बुझ्न थालेँ त्यसको आधार यही माटोले तयार गरेको हो।

सलेती मेरो लागि सम्झनाको संग्रहालय हो। यहीँ मैले बाल्यकालका पहिलो पाइला चालेँ, आमाको काखमा सुतेर संसारलाई नियाल्न थालेँ, र बाबुआमाको पसिनामा जीवनको मूल्य पढेँ। यहीँका उकाली ओरालीले मलाई संघर्षको पाठ सिकाए, र यहीँका खुला आकाशले सपनाहरू उडाउन हौसला दियो।

सलेतीको सौन्दर्य वर्णन गर्न शब्दहरू सधैँ अपूरा लाग्छन्। चारैतिर फैलिएको हरियाली, प्रकृतिले आफैँ सजाएको यो गाउँ, मानौँ स्वर्गको कुनै अंश पृथ्वीमा झरेको हो। बिहान पूर्वबाट हल्का घाम झुल्किँदा डाँडाकाँडा सुनौलो भएर चम्किन्छन्। त्यो क्षण सलेती कुनै दृश्य होइन एक अनुभूति बन्छ। चिसो बतासको सुमधुर स्पर्श, चराचुरुङ्गीको लयात्मक स्वर, र हावामा हल्लिँदा पातहरूले निकाल्ने सान्नो संगीतले मनको गहिराइसम्म शान्ति पुर्‍याउँछ।
गाउँको मुटुमा अवस्थित हुनैनाथ मन्दिर सलेतीको आत्मा हो। यो केवल पूजा गर्ने स्थान होइन, यो विश्वास, संस्कार र सामूहिक स्मृतिको केन्द्र हो। हरेक चाडपर्वमा यहाँ सारा गाउँ एकै ठाउँमा भेला हुन्छ हर्ष, उमङ्ग र श्रद्धा बोकेर। साना ठूला सबैको मन जोडिने यही ठाउँ हो। मन्दिर वरिपरि सुनिने हाँसो, दुवै हात जोरेर गरिने नमस्कार, र साँझपख सुनिने पुराना कथाहरूले पुस्तौँदेखि गाउँको आत्मालाई जीवित राखेका छन्।

सलेतीको सामुन्ने कलकल बग्ने महाकाली नदी गाउँको शान र पहिचान हो। त्यसको अविरल प्रवाह सुन्दा लाग्छ, प्रकृतिले आफैँ हाम्रो गाउँको कथा सुनाइरहेको छ। बाल्यकालमा हामी त्यही नदी किनारमा खेल्थ्यौं, नाङ्गो खुट्टा पानीमा हाम फालेर हाँस्दै रमाउँथ्यौं। आज ती दिनहरू सम्झँदा लाग्छ त्यो महाकालीमा मेरो पनि केही अंश मिसिएको छ, किनकि अहिले पनि त्यसको सम्झनाले मन बग्न थाल्छ।

सलेती जातजातिको सुन्दर संगम हो। जम्मा करिब ६०–६२ घरमात्र भए पनि यहाँका मानिसहरूको मन विशाल छ। दुई परिवार बाहुन, चार परिवार ठगुन्ना, दुई पाल, र बाँकी सबै धामी जातिका छन्। तर यहाँ जातको नामले होइन, मान्छेको मनले सम्बन्ध बाँधिन्छ। यहाँ कहिल्यै भेदभावको पर्खाल उभिएको देखिँदैन। “जिउँदाको जन्ती र मर्दाको मलामी” भन्ने उखान यहाँ जीवन्त छ। विवाहमा सबै जन्ती बन्छन्, दुःखमा सबै मलामी। हाँसो सँगै बाँडिन्छ, आँशु पनि सँगै बग्छ। यही हो सलेती जहाँ गाउँ एउटा परिवार हो।

यहाँको जीवनशैली सरल छ, तर त्यस सरलताभित्र गहिरो दर्शन लुकेको छ। बिहान घामसँगै खेततिर लाग्ने बाआमा, टुक्क परेका गोरु, साँझ फर्किँदा हातमा डाँडु बोकेका दाजुहरू, र आगो ताप्दै किताब पढिरहेका नानीहरू यी सबै दृश्यहरूले सलेतीलाई केवल बसोबासको ठाउँ होइन, एउटा जीवन्त पाठशाला बनाएका छन्।

साँझ पर्न थालेपछि सलेतीमा छुट्टै जादु फैलिन्छ। चराहरू गुँड फर्कन्छन्, मानिसहरू आ–आफ्नो घरतिर लाग्छन्। टाढाबाट देखिने धुवाँको मुस्लोले कसैको चुल्हो बलिरहेको खबर दिन्छ। घरभित्रको न्यानोपन, ढोका बाहिर बसेर गरिने आत्मीय गफ, र आकाशमा टल्किने ताराहरूले सलेतीलाई ममताको ओढनी ओढाइदिन्छन्।

आज म जहाँ भए पनि, जुनसुकै शहर वा भीडमा रहे पनि, मेरो मन सधैँ सलेतीमै फर्किरहन्छ। कहिले काँक्रोको बारी सम्झिन्छु, कहिले पानीको कुलो, कहिले साथीसँगको सानो झगडा, कहिले एउटै प्लेटमा खाएको भात। यी सबै सम्झनाहरू केवल विगतका तस्बिर होइन त्यो त मेरो अस्तित्वका आधारस्तम्भ हुन्।

मेरो गाउँ सलेती जहाँ जीवनका हरेक पलले माया बगाउँछ। जहाँको माटोमा पाइला राख्दा म आफैँलाई फेरि भेट्छु। सायद समय बित्नेछ, म टाढा टाढा पुग्नेछु, तर मेरो मन सधैँ यही गाउँको आँगनमा बसेको रहनेछ।
किनकि सलेती केवल एउटा गाउँ होइन यो मेरो पहिचान हो, मेरो आत्माको भूगोल हो।

संदीप धामी, मालिकार्जुन-६, सलेती, दार्चुला (हाल धनगढी)

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?