दार्चुला । भारतले नेपालसँगको सीमा विवाद सुल्झाउन वार्ताको टेबलमा बस्न आफू तयार रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो धारणा राखेका हुन् ।

“कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि चल्दै आएको छ । यो नयाँ कुरा होइन । हामीले स्पष्ट रूपमा हाम्रो विज्ञप्तिमा भनेका छौँ कि लिपुलेक लगायतका क्षेत्रमा नेपालको एक पक्षीय दाबी ठिक छैन,” विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने, “बाँकी जति पनि मुद्दा भारत र नेपालबीचमा छ त्यसको लागि हामी बसेर छलफल गर्न तयार छौँ । यदि सीमा विवाद छ भने पनि हामी त्यसमा बसेर छलफल गर्न तयार छौँ । तर, यसरी एकतर्फी दाबी गर्नु, फलानो चिज हाम्रो हो भन्नु तरिका ठिक होइन ।”

भारत र चीनले जुनदेखि अगष्टसम्म भारत नियन्त्रित नेपाली भूमि लिपुलेक हुँदै तीर्थयात्रा सुचारु गर्न लागेपछि नेपालले आपत्ति जनाएको थियो । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै लिपुलेकबाट तीर्थ सुरु गर्ने कार्यको विरोधमा भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो ।
परराष्ट्रले विज्ञप्तिमा सन् १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग रहेको जनाएको थियो ।

नेपालले विज्ञप्ति जारी गरेलगत्तै भारतको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै लिपुलेक आफ्नो भएको दाबी गरेको थियो । त्यसपछि बिहीबार सोही सम्बन्धमा पत्रकारले प्रश्न गरेपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले सीमा विवादका सम्बन्धमा नेपालसँग वार्ता गर्न तयार रहेको बताएका हुन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?