दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट तीन दलका चार जना उम्मेदवार समानुपातिकको बन्दसूचीमा परेका छन् । दलहरुले निर्वाचन आयोगमा बुझाएको उम्मेदवारको बन्द सूचीमा दार्चुलाबाट तीन पार्टीका चार जना समानुपातिकतर्फ अटाएका हुन्।
नेकपा (एमाले) ले आदिवासी जनजातितर्फ जहेन्द्र सिह ऐतवाललाई समानुपातिक उम्मेदवार बनाएको छ । उहाँलाई एमाले दार्चुलाले एकल रुपमा सिफारिस गरेको थियो । नेपाली कांग्रेस दार्चुलाले प्रदेश कार्यसमिति सदस्य तथा पूर्व जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर सिह कार्कीलाई समानुपातिक उम्मेदवारको रुपमा जिल्लाबाट सिफारिस गरेको थियो । कांग्रेशले अरुलाई पनि सिफारिस गरेकोमा कार्कीको नाम बन्द सूचीमा परेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा दलित कोटाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रकाश दयाली र धाना देवि लोहारको नाम परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमबाट पाँच जनालाई उम्मेदवार बनाएको जनाएको छ । यद्यपि उसले बुझाएको समानुपातिक सूचीमा सुदूरपश्चिम ठेगाना उल्लेख भएका दुई जना उम्मेदवार मात्रै छन् । कञ्चनपुरबाट दुई जना बन्द सूचीमा पर्दा अरु आठ जिल्लाबाट रास्वपाले कसैलाई पनि समानुपातिक सूचीमा राखेको छैन्। नेपाली कम्युनिस्ट पार्टीले पनि दार्चुलाबाट समानुपातिक बन्द सूचीमा कसैलाई राखेको छैन् ।




