दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–३ स्थित नेपाल–भारत सीमा क्षेत्र लाली पचलघाटमा सशस्त्र प्रहरी बल नेपालले खानेपानी धारा निर्माण सम्पन्न गरेको छ। सशस्त्र प्रहरी बल नेपालको ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत निर्माण गरिएको धाराको मंगलबार उद्घाटन गरिएको हो।
निर्माण सम्पन्न भएको खानेपानी धाराको लेकम गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष सुरेशसिंह थापाले उद्घाटन गर्नुभयो।
उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) लालीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी, इलाका प्रहरी कार्यालय लालीका प्रमुख प्रहरी निरीक्षक रामचन्द्र जोशी, कृष्ण माध्यमिक विद्यालय लालीका प्रधानाध्यापक केशव जोशी, स्वास्थ्य चौकी लालीका सिनियर अहेव जशवीर साकी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष थापाले सशस्त्र प्रहरी बल नेपालले बोर्डर एरिया डेभलपमेन्ट प्रोग्राम (BADP) अन्तर्गत निर्माण गरेको उक्त खानेपानी योजनाबाट सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले विगतमा खानेपानीका लागि महाकाली नदी पार गरी भारतीय भूमिबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको स्मरण गर्दै अब उक्त समस्या अन्त्य भएको बताउनुभयो। खानेपानी धाराको निर्माणसँगै स्थानीय नागरिकको दैनिक जीवन सहज हुनुका साथै सीमा क्षेत्रमा बसोबास गर्ने समुदायको आधारभूत आवश्यकताको सम्बोधन भएको उहाँले उल्लेख गर्नुभयो।
वडा अध्यक्ष थापाले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गर्दै आएका जनहितमुखी कार्यक्रमको प्रशंसा गर्दै यस्ता योजनाले स्थानीय नागरिक र सुरक्षा निकायबीचको सम्बन्ध थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता विकासमुखी तथा जनकल्याणकारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सञ्चालन गर्दै आएको ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत खानेपानी, स्वास्थ्य, शिक्षा, सरसफाइलगायत समुदायमुखी गतिविधि सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले सीमावर्ती क्षेत्रका नागरिकको जीवनस्तर सुधार गर्नुका साथै सुरक्षा निकाय र स्थानीय समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया