प्रेम जोशी ‘सन्देश’, दार्चुला । जेठको महिना, गाउँघरमा कामको चटारो थियो। कोही रोपाइँको सुरुवाती तयारीमा व्यस्त थिए त कोही ब्याडमा बीउ सिञ्चित गर्दै थिए। झरीको आगमनसँगै माटोको सुगन्ध र किसानको पसिना मिसिएको त्यो समय सधैँझैँ सामान्य र सुखद लाग्दै थियो।

मेरो घरमा सञ्चारको कुनै साधन थिएन, न त पत्रपत्रिका, न त एउटा रेडियो। संसारमा के भइरहेको छ भन्ने कुरा हाम्रो पहुँचभन्दा टाढा थियो। त्यही बेला गाउँका एक जना ‘विष्ट बाजे’ ( करन सिंह विष्ट ज्यु) , रेडियो बजाउँदै गोठालो आउनुभयो। उहाँलाई क्रिकेटको कमेन्ट्री सुन्ने औधी रुचि थियो। रेडियो हातमा लिएर हिँडेको देख्दा मलाई लाग्यो,, आज पनि पक्कै कुनै रोमान्चक क्रिकेट म्याच भइरहेको होला।
तर, त्यो दिन कथा बेग्लै थियो।

रेडियो नेपालबाट कुनै खेलको कमेन्ट्री होइन, एउटा स्तब्ध बनाउने समाचार पटक-पटक गुञ्जिरहेको थियो, “राजासहित राजपरिवारका सदस्यहरूको हत्या भयो!”
विष्ट बाजेको अनुहार मलीन भयो। उहाँले गह्रुँगो स्वरमा भन्नुभयो, “हेर बाबु, आज देश नै रोइरहेको छ।”

दरबारभित्रै भएको त्यो विभत्स हत्याकाण्डको खबरले मेरो बालमस्तिष्क नर्भस भयो, म निकै डराएँ। गाउँ-समाजमा एउटा अज्ञात त्रास फैलियो। सुरक्षाको सर्वोच्च घेराभित्र रहने राजपरिवार त सुरक्षित छैनन् भने हामी सामान्य जनताको के अवस्था होला? परिवारका हरेक सदस्यका आँखामा त्यो त्रास स्पष्ट देखिन्थ्यो।

त्यो घटनाले मेरो बालमस्तिष्कमा सञ्चारको महत्त्व कति हुन्छ भन्ने कुरा गहिरोगरी गाडिदियो। घरको आर्थिक अवस्था निकै कमजोर थियो, तर देश-दुनियाँ बुझ्ने मेरो त्यही छटपटीलाई बुझेर आदरणीय बुबाले दुई वर्षपछि दुःख कष्ट गरेर एउटा रेडियो किनिदिनुभयो। त्यो रेडियो मेरो लागि केवल एउटा यन्त्र मात्र भएन, देश-विदेश सुन्ने, बुझ्ने र संसारलाई चिन्ने एउटा आँखीझ्यालका रूपमा रह्यो।
आज फर्केर हेर्दा, मलाई त्यो सूचनाको संसारसँग पहिलो पटक साक्षात्कार गराउने विष्ट बाजेप्रति सम्मान जाग्छ र त्यो गरिबीमा पनि मेरो चेतनाका लागि रेडियो किनिदिने श्रद्धेय बुवाप्रति अगाध आभार व्यक्त गर्दछु।

२०५८ साल जेठ १९ गतेको त्यो कालो रातले नेपालको इतिहासलाई सधैँका लागि बदलिदियो। आज राजा वीरेन्द्र र उनको परिवारको स्मृति दिवस। देशलाई विश्वमा ‘शान्तिको क्षेत्र’ र शान्तिको प्रतीकका रूपमा चिनाउन श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवको योगदान अतुलनीय छ। उहाँमा जनताप्रतिको अगाध चिन्ता र मुलुकलाई समृद्ध बनाउने तीव्र हुटहुटी थियो। तत्कालीन समयमा देशमा बलिरहेको गृहयुद्धको आगोलाई समेत उहाँ हतियारले होइन, वार्ता र संवादको माध्यमबाट शान्त पार्न सकिन्छ भन्ने कुरामा दृढ हुनुहुन्थ्यो। तर, समय नपुग्दै उहाँ शङ्कास्पद ढङ्गले यो संसारबाट बिदा हुनुभयो।

आज राजनीतिक स्वार्थका लागि सामान्य झडपमा ज्यान गुमाउनेहरूलाई सजिलै ‘शहीद’ घोषणा गर्ने परिपाटी बसिसक्यो। तर, देशको राष्ट्रियता र शान्तिका लागि जीवन समर्पित गर्ने राजा र उनको परिवारलाई शहीद घोषणा गर्ने माग गर्नु सायद यहाँको राजनीतिक परिभाषामा नमिल्ला। तर, नेपाली जनताको मनमा उहाँहरू सधैँ अमर रहनुहुनेछ।

यतिका वर्ष बितिसक्दा पनि दरबार हत्याकाण्ड कसले र किन गर्‍यो भन्ने प्रश्न आज पनि हरेक नेपालीको मनमा एउटा गहिरो रहस्य बनेर जीवितै छ। यो इतिहासकै सबैभन्दा दुःखद् र लज्जास्पद विषय बनेको छ ।

इतिहासका कतिपय पानाहरू धमिलो पारिएलान्, तर सत्य र योगदान कहिल्यै मेटिँदैनन्। दरबार हत्याकाण्डको एउटा निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय छानबिन हुनु आज पनि उत्तिकै आवश्यक छ, जसले इतिहासको यो कालो धब्बालाई सफा गर्न सकोस् र न्यायको ढोका खोलोस्।

दरबार हत्याकाण्डमा दिवंगत हुनुभएका श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव तथा सम्पूर्ण राजपरिवारप्रति हार्दिक एवं भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु !

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?