देवीदेउता जुवा खेल्न कैलाशतिर, राक्षस भगाउन झ्यालढोकामा झिझिरकाँडा

“साउँदिदी साउँ, बाटा झिझिरीकाँणा काँबाट झाउँ?”
“साउनदिदी साउन, बाटा झिझिरीकाँणा काँबाट झाउँ?”
“साउनै साउन माल झिझिरकाँणा काँबाट झाउँ?”
“साउनकिरात पुस परभात आफ्नुरक्षा आफुइअर मुँ अनिन बात ।”
“ठुल्ठुला गण्खेत नान्नानाँ खाउँ, झिझिरीकाँणा काँबाट झाउँ?”

दार्चुला। सुदूरश्चिमका दार्चुला,बैतडीलगायत जिल्लामा साउन महिनासुरु भएसँगै घरका झ्याल, ढोकामा काँडेदार रुखका हाँगा राख्ने तयारी गरिएको छ । साउन महिना सुरु हुनै लाग्दा यहाँ झ्याल ढोकाहरुमा काँडेदार रुखहरुको हाँगा राख्ने प्रचलन छ ।

काँडेदार बिरुवालाई ‘झिझिरकाँडा’भनिन्छ । दार्चुला जिल्लाका विभिन्न स्थानमा असार मसान्तका दिन बेलुकी झ्याल ढोकाहरुमा भिझिरकाँडा राख्ने गरिन्छ भने कतिपय क्षेत्रमा साउन १ गते अर्थात साउने संक्रान्तीका दिन राख्ने चलन छ ।

किन राखिन्छ झिझिरकाँडा ?

साउने संक्रान्तीसँगै देवीदेवता शिव भगवान्को बासस्थान मानिने कैलाश जाने भएकाले सुरक्षाका लागि यहाँ स्थानीयहरुले झ्याल ढोकामा झिझिरकाँडा राख्ने चलन छ ।

नर अथवा मानिसहरुको रक्षा गर्ने देवीदेवता साउन महिना सुरु भएसँगै कैलाश जाने विश्वास गरिन्छ । जसकारण साउन महिनाभरी राक्षसहरुको बिगबिगी बढ्ने भएकाले राक्षसबाट बच्न झ्याल ढोकामा झिझिरकाँडा राख्ने चलन रहेको मार्मा गाउँपालिका-६ शेरीका स्थानीय पार्वती कोट्टारीको भनाइ छ ।

‘साउन महिनाभरी देवी देवता कैलाशतिर हुन्छन्, मानव बस्तीतिर राक्षसहरुको मनपरि चल्छ,’ उनले भने, ‘घरभित्र नआउन भनेर झ्याल ढोकामा झिझिरकाँडा राख्ने परम्परा पहिले देखिकै हो ।’

साउन महिना मानिसहरु देवी-देवताको साहारा बिना बस्नु परेकाले पनि विभिन्न घट्नाहरु हुने भन्दै असार मसान्तका दिन सस्र्याैं, कालोमास, गहत, जौं, तील जस्ता पञ्च नाजले परिवारका सबै सदस्यहरुको टाउकोमाथि घुमाएर बाहिर फाल्ने चलनसमेत छ ।

यसरी पाँच प्रकारका अन्नले टाउकोमाथि घुमाएर फालेपछि रोग ब्याधी, शरीरमा चोटपटक नलाग्ने जनविश्वास छ ।

मानव बस्ती देबीदेवता बिहीन हुने भएकोले साउन महिनालाई कालो महिनाको रुपमा लिइने मार्माका जगत डडालले बताए । यसरी मनाइने पर्वलाई ‘मैझारो’ पर्व पनि भनिन्छ ।

बर्खेबाली रोपी सकेकाले फुर्सदमा हुने भएकाले मैझारो पर्वका रुपमा सुदूदरपश्चिमका विभिन्न जिल्लामा यो पर्व मनाउने परम्परा छ ।

देवता र राक्षसबीच कैलाशमा जुवा

कैलाशमा देवीदेवता र राक्षसहरुले पासा अर्थात् जुवा खेल्ने गरेको जन विश्वास छ । साउन महिनामा कैलाशमा गएर देवीदेवता एकातिर र अर्काेतिर राक्षसको समूहबीच पासा खेलमा प्रतिष्पर्धा हुने गरेको बुढापाकाहरुले बताउने गरेको छन् ।

देवी देवताको विजय भएका मानव बस्तीहरुमा बाढी पहिरो, आतंक, महामारी जस्ता प्रकोपहरु कम हुने र राक्षसको विजय भएमा मानव बस्ती तथा प्रकृतिमा विभिन्न खालका समस्याहरु, बाढी पहिरोका घट्नाहरु धेरै हुन्छ भन्न जनविश्वास छ ।

साउन १ गते कैलाश गएका देवी-देवताहरु भाद्र १ गते फर्किन्छन् भन्ने चलन सुदूरपश्मिेली समाजमा छ ।

भाद्र १ गतेका दिन देवीदेवता र राक्षसबीचको प्रतिस्पर्धाको नतिजा सुनाइन्छ । भाद्र १ गते धामी झाँक्रीहरुले कैलाशको यात्रा, राक्षससँगको प्रतिष्पर्धा के कस्तो भयो लगायतका १ महिने कैलाश बसाइका बारेमा भलाकुसारी गर्ने गरेको जनविश्वास छ ।

पछिल्लो युवा पिढीँले पनि यो पर्वालाई मौलिक परम्पराका रुपमा आत्मसाथ गर्दै आएका छन् । जनविश्वास र समुदायको पहिचान भएकोले यो परम्परालाई निरन्तरता लिएको युवाहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?