दार्चुला । दार्चुलाको मार्मामा जलवायु अनुकूलन परियोजना अन्तर्गत खानेपानी मर्मतसम्भार तालिम सम्पन्न भएको छ ।
मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिका को सहयोग तथा जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाअन्तर्गत मार्मा गाउँपालिका वडा नम्बर ५ स्थित मुरै बहुउपयोगी योजनामा खानेपानी तथा सरसफाइ योजनाको मर्मतसम्भारसम्बन्धी १४ दिने ग्रामिण मर्मत सम्भार कार्यकर्ता तालिम सम्पन्न भएको हो।
जेठ १ गतेदेखि सञ्चालन भएको तालिम जेठ १४ गते विहिबार सम्पन्न भएको सहजकर्ता बुद्धि पल्लव जोशीले जानकारी दिनुभयो । तालिममा खानेपानी पाइपलाइन, धारा, ट्यांकी तथा सरसफाइ संरचनाको नियमित मर्मत, सम्भार र व्यवस्थापन सम्बन्धी व्यावहारिक तथा प्राविधिक जानकारी प्रदान गरिएको उहाँले बताउनुभयो ।
तालिमको मुख्य उद्देश्य गाउँस्तरमै दक्ष प्राविधिक जनशक्ति तयार गरी खानेपानी तथा सरसफाइ योजनालाई दीगो र प्रभावकारी रूपमा सञ्चालन गर्नु रहेको उहाँले बताउनुभयो । तालिमबाट सुरक्षित खानेपानी वितरण तथा योजनाको दीर्घकालीन संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिममा मार्मा र अपिहिमाल गाउँपालिकाका विभिन्न खानेपानी तथा सरसफाइ योजनासँग आबद्ध १३ जनाको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण मार्मा गाउँपालिका परियोजना कार्यान्वयन इकाईका जलस्रोत प्राविधिक बुद्धि पल्लव जोशी र वीरभद्र जोशीले गर्नुभएको थियो ।




