दार्चुलालाई केवल एउटा भूगोलको रूपमा मात्र होइन, सङ्घर्षको प्रतीकको रूपमा हेरिन्छ। यसका प्रमुख कारकहरूमध्येका एक हुन्— चन्द्रदेव जोशी। २०३६ सालको जनमत संग्रहमा दार्चुलाले जुन रूपमा बहुदलको पक्षमा विशाल मतदान गर्यो, त्यसको पछाडि जोशीले फैलाएको राजनीतिक चेतनाको ठूलो हात थियो। यहीँको सिराड गाउँको माटोमा १९९५ सालमा जोशीको जन्म भयो। शिक्षाको उज्यालो निकै टाढा रहेको त्यो समयमा, जोशीले यहाँको अभाव र सामाजिक बन्धनलाई तोड्ने साहस गरे। ११ वर्षकै कलिलो उमेरमा हलो समातेर जोशीले सामाजिक रुढीवादमाथि पहिलो प्रहार गरे। नेपालमा विद्यालय नभएको सो समयमा, छिमेकी भारतमा गएर निकै सङ्घर्षका साथ उनले पढाइ गरे। पछि सोभियत सङ्घ (मस्को) पुगेर इन्जिनियरिङको उपाधि हासिल गरे, जुन दार्चुलाको इतिहासमा पहिलो र गौरवपूर्ण उपलब्धि थियो।
पञ्चायती व्यवस्थाको विरोध गर्दा जोशीले पटक-पटक कठोर जेल सजाय भोगे। पञ्चायती शासनले उनलाई धेरै पटक हिरासतमा लियो। एउटा समय यस्तो पनि आयो, जब जोशीलाई जेलमा राखेको महिनौँसम्म पनि उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कसैलाई थाहा भएन। उनी बेपत्ता पारिएपछि तत्कालीन पत्रपत्रिकाहरूमा ‘प्रशासकले जोशीलाई हत्या गरिसकेको’ खबर समेत छापिएका थिए। आफ्नो ज्यानको प्रवाह नगरी लोकतन्त्रका लागि उनी यसरी नै मृत्युको मुखबाट पटक-पटक फर्किएर आए।
२०४३ सालमा जब देश पञ्चायतको कठोर शासनको नियन्त्रणमा थियो, चन्द्रदेव जोशीले एउटा यस्तो आँट गरे जसको चर्चा आज पनि दार्चुलाका बस्ती-बस्तीमा हुन्छ। ज्यानको बाजी थापेर जोशीले आफूलाई “प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको उम्मेदवार” घोषणा गर्दै चुनावमा उत्रिने आँट गरे। त्यो बेला यो पूरै देशका लागि एउटा अभूतपूर्व विद्रोह थियो। सुदूरपश्चिमको पहाडमा मार्क्सवादको पहिलो झण्डा गाड्ने काम जोशीले नै सम्पन्न गरे। राज्यले जोशीका समर्थकहरूलाई यातना दियो, दमन गर्यो र धाँधली गरेर जोशीलाई संसद् छिर्नबाट रोक्यो, तर जनताको मुटुमा उनको स्थान अझ मजबुत बन्यो।
२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि, २०४८ को चुनावमा दार्चुलाले फेरि आफ्नो सुपुत्रलाई जिताउने कोसिस गर्यो। तर जोशीलाई रोक्नका लागि एउटा ठूलो राजनीतिक षड्यन्त्र रचियो। दार्चुला जिल्लालाई इतिहासमै पहिलो पटक दुईवटा निर्वाचन क्षेत्रमा विभाजन गरियो। यो विभाजन जिल्लाको विकासका लागि नभई जोशीको जनाधारलाई टुक्राउनका लागि गरिएको थियो। जोशीका हजारौँ समर्थकहरूलाई अर्को क्षेत्रमा पारेर उनलाई चुनाव हराउने काम भयो। आफ्नो प्रिय छोरालाई षड्यन्त्रपूर्वक पराजित गरिएकोमा दार्चुलाले आज पनि गहिरो पछुतो व्यक्त गर्छ।
राष्ट्रिय राजनीतिमा जोशीको कद यति उचो भयो कि उनी दार्चुला जिल्लाबाट ‘पूर्ण क्याबिनेट मन्त्री’ (Full Cabinet Minister) बन्ने पहिलो ऐतिहासिक व्यक्तित्व बने। बाबुराम भट्टराईको नेतृत्वमा सरकार झन्डै दुई वर्ष टिके पनि जोशीले भने मन्त्री भएको मात्र तीन महिनामा नैतिकताका आधारमा विना कुनै हिचकिचाहट राजीनामा दिए। उनले पदको मोहभन्दा आफ्नो निष्ठालाई सधैं माथि राखे। त्यही छोटो तीन महिनाको कार्यकालमा उनले नेपालको इतिहासमै पहिलो पटक ‘जग्गा उपयोग नीति’ (Land Utilization Policy) पारित गराएर देशको भूमि सुधारको क्षेत्रमा एउटा ठूलो र ऐतिहासिक योगदान दिए।
जोशी दार्चुलाबाट राष्ट्रिय स्तरमा पुग्ने र एउटा राजनीतिक दलको नेतृत्व गर्ने गिनेचुनेका नेताहरूमध्ये एक बने। दार्चुलाको माटोबाट जन्मिएर देशको शीर्ष नेतृत्व तहमा पुग्ने र राष्ट्रिय राजनीतिलाई मार्गदर्शन गर्ने उनी एकमात्र नेता थिए। उनी देशका उच्च स्तरका नेताहरूको पङ्क्तिमा रहेर पनि सधैं सरल र पहुँचयोग्य नै रहे।
जोशीलाई देशकै सबैभन्दा इमानदार नेताको रूपमा सम्मान गरिन्छ। उनको जीवनको सबैभन्दा ठूलो परीक्षा तब भयो, जब तत्कालीन सरकारले जोशीमाथि भ्रष्टाचारको झुटो आरोप लगायो। तर नेपालको राजनीतिक इतिहासमै एउटा अभूतपूर्व घटना देखियो— जोशीमाथि आरोप लाग्दा सम्पूर्ण देशले एकै स्वरमा त्यो आरोपलाई अस्वीकार गर्यो। जनताले जोशीको इमानदारीमाथि यति धेरै विश्वास व्यक्त गरे कि सत्ता आफैँ पछि हट्न बाध्य भयो। आफ्नो छोराको यो निष्कलंक छविमा दार्चुलाले आज पनि गर्व गर्छ।
आजको समयमा जब राजनीतिलाई पद र पैसाको खेल बनाइएको छ, जोशीले भने अझै पनि सादा जीवन र उच्च विचारको मार्गलाई नै अङ्गालेका छन्। व्यक्तिगत लाभका लागि जोशीले कहिल्यै आफ्नो इमानको सौदा गरेनन्। दार्चुलाले आज आफ्ना यी सुपुत्रलाई हेरेर भन्छ— “मलाई गर्व छ कि मैले एउटा यस्तो छोरा पाएँ, जसले मलाई पूरै देशमा शीर उठाएर बाँच्ने पहिचान दियो।” चन्द्रदेव जोशी केवल एक व्यक्ति होइनन्, उनी दार्चुलाको गौरव र नेपालकै निष्कलंक राजनीतिको एउटा जीवित इतिहास हुन्।




