दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ का स्थानीयहरुले सडक निर्माणको माग गर्दै संघर्ष समिति गठन गरेका छन् । वडा नम्बर ४ का विभिन्न ८ वटा टोलका स्थानीयहरुले गुरौस्या, लेक, दह्, पैतोली, चोलेक हुँदै तोली–झलाती–लाली जोड्ने सडक निर्माणको माग गर्दै संघर्ष समिति गठन गरेका हुन् ।
उक्त सडक निर्माणको पहलका लागि वडा नम्बर ४ का वडा सदस्य तथा ज्येष्ठ नागरिक मानबहादुर पालको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। समितिमा केशव गिरी वडा प्रतिनिधिका रूपमा रहेको स्थानीय मोहन पालले जानकारी दिनुभयो ।
यस सम्बन्धमा वडा कार्यालय, गाउँपालिका, प्रदेश सरकार, संघीय सरकार तथा सडक डिभिजन कार्यालय पाटनलाई बोधार्थ गरिएको उहाँले बताउनुभयो ।
आइतबार सम्पन्न स्थानीयहरुको भेलामा ८ वटा बस्तीका करिब १५० जनाको सहभागिता रहेको थियो। भेलाले सडक निर्माण कार्यमा कुनै पनि प्रकारको अवरोध नगर्ने, बरु आवश्यक सहजिकरण गर्ने निर्णय गरेको स्थानीय पालले जानकारी दिनुभयो ।




